अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नीति, संगठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछ : महासचिव पोखरेल

एमालेको नीति, संगठन र नेतृत्व पुनः व्यवस्थित गरिनेछ : महासचिव पोखरेल


काठमाडौं– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, संगठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताउनुभएको छ ।

महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको सम्लग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने जनाउनुभएको हो । माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताउनुभयो । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्को ध्रुव क्रियाशील रहेको टिप्पणी गर्नुभयो ।

नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उहाँले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताउनुभयो । तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो? भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, ‘म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुराभन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।’