अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प

महाकालीमा पानीको बहाव बढ्दा आवागमन ठप्प


कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी हुँदै भारत आवागमन गर्न वनबासा पुलमा रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले सोमबार दिउँसोको मापनअनुसार महाकाली नदीमा पानीको बहाव बढेर दुई लाख ४५ हजार क्युसेक नाघेको बताउनुभयो ।

भारतीय पक्षले पुल जीर्ण रहेको कारण देखाउँदै नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि ठूला तथा मालबाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

‘नदीमा पानी बढेपछि आइतबार बेलुकीदेखि नै वनबासा पुलमा पैदल र मोटरसाइकल बाहेक ठूला सवारी चलेका छैनन्”, प्रहरी नायब निरीक्षक गुरुङले भन्नुभयो, ‘अहिले पानी घट्दो क्रममा रहेको बुझिएको छ ।’ पुल बन्द हुँदा नेपाल–भारत आवातजावत गर्ने यात्रुहरु प्रभावित बनेको प्रहरीले जनाएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम औँल्याइए पनि यहाँबाट मजदुरीका लागि दैनिक सयौँ नेपाली भारत जाने गरेका छन् ।

गत जेठ महिनायता महाकाली नदीमा दुई पटक ठूलो बाढी आइसकेको छ । यसअघि आएको बाढीले महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल संरचनामा क्षति पुर्‍याएको थियो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुला र बैतडीमा अविरल वर्षा हुँदा र भारतले धौलीगङ्गाको बाँध खोल्दा यहाँ महाकाली नदीमा पानीको बहाव बढ्ने गरेको छ ।

आइतबार रातिदेखिको वर्षाका कारण दार्चुलामा जनधनको क्षति हुनुका साथै पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् ।