अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने

काठमाडौंको फोहोर भोलिबाट उठ्ने, अवरोध भए बल प्रयोग गरिने


काठमाडौं– काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलबारको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौं,’ मेयर शाक्यले भन्नुभयो , ‘हामीले गर्नसक्ने समस्या भए हामी समाधान गर्छौं । हामीले नसक्ने भए सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौं । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’

उहाँले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको पनि जानकारी दिनुभयो । ‘सिसडोलमा फोहोर व्यवस्थापनको काम ०६२ सालदेखि हुँदै आएको छ । त्यसको सबै जिम्मेवारी शहरी विकास मन्त्रालयको हो । काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ शाक्यले भन्नुभयो, ‘अहिले पनि हामीले प्रधानमन्त्री र विभिन्न निकायसँग फाहोर व्यवस्थापनका लागि सहयोगको अपील गर्दै आएका छौं ।’

शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको बताउनुभयो । ‘महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भन्नुभयो, ‘अहिले पनि उहाँहरूका जायज र महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौँ ।’

उहाँले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले फोहोर उठाउने निर्णय भएको र सडक विभागले महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने निर्णय भएको बताउनुभयो । ‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँबीच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ ।’