काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय प्रशासनले केभिड-१९ सकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय गर्न सक्ने निर्णय गरेको छ ।
काठमाडौंउपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिँदै आज सो निर्णय गरेको हो ।
विद्यालयहरु सञ्चालन गर्नैपर्ने भएमा सरकारले जारी गरेको ‘स्मार्ट लकडाउन’को प्रावधानभित्र रही स्थानीय तहहरूले जिल्लाको केभिड–१९ सकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने निर्णय गरेको हो ।
यही भदौ १७ देखि ३१ गतेसम्म लागू हुने निषेधाज्ञासम्बन्धी आदेश जारी गर्दै स्थानीय प्रशासनले यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य ‘प्रोटोकल’को पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्र मनाउन पाइने तथा अनावश्यक रूपमा मानिस जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, भोजमा निषेध गरेको छ ।
सर्वसाधारण, समूह तथा संस्थालगायत निकायबाट आर्थिक, सामाजिक तथा व्यावसायिक गतिविधि सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र सञ्चालन गर्न पाइने छ भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गर्न पाइने छैन ।
सार्वजनिक तथा निजी निर्माणका लागि निर्माण सामग्री ढुवानी बेलुका ९ देखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय, कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ स्थानीय तथा प्रशासन ऐन, २०२८ अनुसार काठमाडौ उपत्यकाका स्थानीय प्रशासनले उक्त आदेश जारी गरेका हुन् ।





प्रतिक्रिया