विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताउनुभएको छ । आज नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै अल्पमतमा परेपछि उहाँले यस्तो बताउनुभएको हो । आचार्यले आफूले राजीनामा नदिने बरू विश्वासको मत लिने बताउनुभयो ।
आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौँ भनेर आएका जनप्रतिनिधिहरूले आफूलाई विश्वासको मत दिने मुख्यमन्त्री आचार्यको विश्वास छ । एमालेबाट एकीकृत समाजवादीमा गएका सांसदहरूप्रति भने आचार्यले उनीहरूले आफनो अधिकार प्रयोग गरेको टिप्पणी गर्नुभयो ।
प्रदेश १ मा कुल ९३ सदस्यीय प्रदेश सभा रहेकोमा एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई माओवादीले कारवाही गरेपछि ९२ सदस्य बाँकी छन् । जसमध्ये एमालेका ५१ (विभाजनअघि), कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादीका तीन तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक, एक जना सांसद छन् ।
बहुमतका लागि प्रदेश सभामा ४७ मत चाहिन्छ ।







प्रतिक्रिया