अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपदमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन

विपदमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन गृहमन्त्रीको निर्देशन


काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिमा परेका नागरिकको जीवनरक्षामा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

कास्की, तनहुँ र दाङका विभिन्न क्षेत्रमा विपद्का कारण धनजनको क्षति भएका दुखद् घडीमा तत्तत् जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको जीवनको रक्षाका लागि उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरेर काम गर्न भन्नुभएको छ ।

तीनवटै जिल्लामा भएका मनसुनजन्य घटनाका बारेमा जानकारी लिँदै उहाँले विपद् जोखिम न्यूनीकरणमा सक्रियतापूर्वक लाग्न पनि आग्रह गर्नुभयो । गृहमन्त्री खाँणले कास्कीका प्रजिअ थानेश्वर गौतम र तनहुँका सागर आचार्यसँग लगातारको वर्षात्पछिको पहिराले पु¥याएको क्षतिबारे जानकारी लिनुभएको हो भने दाङमा बिहान भएको कार दुर्घटनाबारे प्रजिअ रामबहादुर कुरुम्बाङसँग जानकारी लिनुभएको हो ।

तनहुँका प्रजिअ आचार्यले जिल्लाको भानु नगरपालिकाको–११ मानेचौकामा गएको सुक्खा पहिराका कारण १२ घर जोखिममा परेको र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । “ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको छ”, उहाँले भन्नुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको–२० र ११ मा गएको पहिरामा परी तीन जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी गराउनुभयो । उहाँले पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको र बेपत्ताको अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार जारी राखेको जानकारी दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्नेखोलाले ३–०१–०२४ च ४४४० नंको कार बगाउँदा घोराही उपमहानगरपालिका–१५ का विमला केसी र राधा कुँवर तथा घोराही उपमहानगरपालिका–१३ का नीतामाया पुन र सुशीला श्रेष्ठको मृत्यु भएको गृहमन्त्री खाँणलाई जानकारी दिनुभयो ।