काठमाडौं । नेकपा एमालेका नेता टोबहादुर रायमाझीले को सही र को गलत भन्ने कुरा जनताले छुट्याउने बताउनुभएको छ ।
नेकपा एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रायमाझीले अध्यादेश, परमादेश र जनादेश के सही हो र के गलत हो भन्ने कुरा छुट्याउने बेला आएको बताउनुभयो ।
केपी शर्मा ओलीको नेतृत्वमा विकास र समृद्धिको एजेण्डा परिवर्तन भएको उहाँले दाबी गर्नुभयो । विकास र समृद्धिबाट मात्र देशमा परिवर्तन सम्भव छ भनेर नै केपी ओलीको नेतृत्वमा विकासको अभियान अघि बढेको उहाँले बताउनुभयो ।
नेकपाको एकता केपी ओलीकै नेतृत्वमा भएको पनि उहाँले प्रष्ट पार्नुभयो । कसैलाई प्रधानमन्त्री र कसैलाई पार्टी अध्यक्ष चाहिएर अस्वस्थ प्रतिस्पर्धा सुरू भएपछि नेकपा विभाजित भएको उहाँले बताउनुभयो । ‘राष्ट्र र जनतलाई केन्द्रमा राखेर पार्टी एकता नगरेका साथीहरू पार्टी विभाजनतर्फ लाग्नुभयो, एकहदसम्म पार्टी विभाजन गरेर छाड्नुभयो’, उहाँले भन्नुभयो ।
माधव नेपाल लगायतका नेताले राजनीतिमा दुनियामा नै नभएको अपराध गरेको उहाँले बताउनुभयो । प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाएर हिँड्ने जस्तो निकृष्टता अरू केही हुनै नसक्ने उहाँले बताउनुभयो । ‘आफू सिद्धियो भन्ने थाहा छैन, प्रधानमन्त्री बनाइयो भनेर दंग हुनुहन्छ’, रायमाझीले भन्नुभयो ।
पुँजीवादका नाइकेलाई नेता बनाएर हिँड्नेहरू समाजवादमा पुग्न नसक्ने उहाँले बताउनुभयो । प्रचण्डले पुँजीवादका नाइकेलाई बोकेर हिँडेको कारण आफूहरूले माओवादी छाड्नु परेको रायमाझीले बताउनुभयो ।
उहाँले लोकतन्त्र र संविधानको रक्षाको लागि नयाँ जनादेशमा जानुपर्ने बताउनुभयो । तर, परमादेशमार्फत विपक्षी दलका नेतालाई समातेर कम्युनिष्ट नेताले लोकतन्त्र र संविधानलाई नै संकटमा पार्ने काम गरेको उहाँको भनाइ छ । ‘यस्ता खालका हर्कतलाई इतिहासले क्षम्य गर्ने छैन’, उहाँले भन्नुभयो ।
उहाँले प्रतिक्रान्ति मार्फत संविधान र व्यवस्थालाई समाप्त पारिएको बताउनुभयो । प्रतिक्रियावादीको नेतालाई मुखिया बनाएर दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर लोकतन्त्र र संविधानको खिल्ली उडाएको उहाँले प्रष्ट पार्नुभयो । अब देशका सबै पार्टीलाई टुक्राटुक्रा पार्ने हर्कत भएको उहाँ बताउनुभयो । ‘एमालेलाई त फुटाइयो फुटाइयो, अब कुनै पार्टी बाँकी रहेन छैनन्’, रायमाझीले भन्नुभयो ।
आफूहरूले सर्वोच्च अदालतको फैसलालाई चुनौति दिएको पनि रायमाझीको भनाइ छ । ‘सर्वोच्चले एमाले जति एमालेमा जाऊ, माओवादी जति माओवादीमा जाऊ भन्यो, हामीले मानेनौँ, हामी राजनीतिक रूपमा नेकपामा नै बस्यौँ, कानुनी रूपमा एमाले भयौँ’, रायमाझीले भन्नुभयो ।
रायमाझीले नेपालमा अब दुई पार्टी मात्र रहने पनि बताउनुभयो । अब देशमा कांग्रेस र एमाले मात्र बाँकी रहने उहाँको भनाइ छ । अन्य पार्टी कुनै अस्तित्वमा नरहने उहाँको दाबी छ ।
नेकपा एमालेसँग एक्लै लड्ने हैसियत नभएकाले महागठबन्धन बनाएका रायमाझीले बताउनुभयो । महागठबन्धन बनाउनेले मनको लड्डु घ्यूसँग खाने उहाँको भनाइ छ ।





प्रतिक्रिया