अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ’

‘सरकारले एउटै विदेश नीति अवलम्बन गर्छ’


काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले सबै मित्रराष्ट्रसँग एउटै विदेश नीति अवलम्बन गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री डा महतले वर्तमान सरकारले विदेश नीति अबलम्बन गर्दा एउटै मापदण्ड अपनाउने बताउनुभएको हो । “एउटा मित्रराष्ट्रसँग सम्बन्ध राख्दा एउटा मापदण्ड र अर्को मित्रराष्ट्रसँग सम्बन्ध राख्दा अर्को मापदण्ड बनाउनु हुँदैन”, उहाँले भन्नुभयो ।

उहाँले वर्तमान सरकारले विश्वासका आधारमा छिमेकी देशबीचको सम्बन्ध अगाडि बढाएको बताउनुभयो । डा महतले नेपालको परराष्ट्र नीतिको मूलमन्त्र आफ्नो देशको स्वार्थ र हितको संरक्षण गर्नु भएको स्पष्ट पार्नुभयो । सरकारले आफ्नो स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउने उहाँको भनाइ छ ।

उहाँले चीनसँगको सीमा विवादबारे सरकारले अध्ययन समिति बनाएकाले मिचिएको देखिए सम्बन्धित निकायसँग सरकारले कुरा उठाउने बताउनुभयो । उहाँले एमसिसीमा भएका आशङ्काहरु अमेरिकी सरकारले हटाउने विश्वास व्यक्त गर्नुभयो ।

सहमहामन्त्री डा महतले कांग्रेसको यही भदौ १८ देखि सुरु भएको वडा अधिवेशनमा उत्साहपूर्वक सहभागिता देखिएको बताउनुभयो । “वडा अधिवेशनले पार्टीभित्र ऊर्जा र जाँगर थपेको छ”, उहाँले भन्नुभयो । उहाँले कांग्रेसको महाधिवेशन आउन झण्डै तीन महिना समय बाँकी रहेको भन्दै अनुकूल समय आएपछि आफूले उम्मेदवारी घोषणा गर्ने बताउनुभयो ।