अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी प्रदर्शन गर्ने

एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी प्रदर्शन गर्ने


काठमाडौं– राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा भदौ २२ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन सरकारले न्यूनतम कार्यक्रममा एमसीसी समावेश नगरेको भए पनि केही दिनयताका गतिविधिले एमसीसीलाई पारित गराउन चलखेल हुन थालेको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी वा यस्तै गम्भीर प्रकृतिका र विवादास्पद विषयहरु सरकारले यो अवधिमा नउठाउने एक प्रकारको भद्र सहमति हो । तर केही दिनयता राष्ट्रिय जनमोर्चा बाहेकका गठबन्धनका दलहरुबीच एमसीसीबारे छलफल भएको, एमसीसीको विज्ञापन प्रसारण भएको, एमसीए अमेरिकाका उपाध्यक्ष चाँडै नेपाल आउने, अमेरिकाले एमसीसीलाई संसदबाट पारित गराउन दिएको दबाब र चर्चाले एमसीसीलाई पारित गर्न चलखेल भएको सहज रुपमा अनुमान गर्न सकिन्छ ।’

राष्ट्रिय जनमोर्चाले एमसीएका उपाध्यक्षको आगमन, नेपाललाई एमसीसी पारित गर्न दिएको दबाबका विरुद्ध र गठबन्धन सरकारलाई सचेत पार्न मंगलबार सांकेतिक रुपमा देशव्यापी विरोधका कार्यक्रम गर्ने निर्णय गरेको जनाएको छ ।