कञ्चनपुर -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मुक्त हलियालाई आत्मनिर्भर बनाउनका लागि योजनाबद्धरूपमा कार्यक्रम अगाडि बढाइने बताउनुभएको छ । सोमबार पुर्नवास नगरपालिका–९ सीताबस्तीमा १३औँ हलिया मुक्ति दिवसका अवसरमा उहाँले मुक्त हलिया परिवारलाई आयआर्जनसँग जोडेर स्वरोजगार बनाइने बताउनुभयो ।
प्रदेश सरकारले समाजमा पछाडि परेका वर्गहरुको उत्थानलाई लक्ष्य गरी ल्याउन लागेको कानून निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । पुनःस्थापन, छुट मुक्त हलियाको अभिलेखीकरण, वृत्तिविकास, सहुलियत ऋण प्रदान गर्नेलगायतका काम छिट्टै अगाडि बढाइने उहाँले बताउनुभयो ।
“मानव जाति रहँदासम्म सङ्घर्ष जारी रहन्छ”, उहाँले भन्नुभयो, “सामाजभित्रको गलत चिन्तन परिवर्तन नहुँदासम्म कानुनमात्रै बनाए पुग्दैन ।” यसका लागि साझा सङ्घर्षको उठान गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । स्वरोजगार कार्यक्रममा केही गर्नुपर्छ भन्ने भावना भएका युवालाई सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले युवालाई स्वरोजगार बनाई नमूनाका काममा सङ्लग्न गराइने बताउनुभयो ।
राजनीतिक परिवर्तनसँगै जनताले विकासको अनुभूति गर्न पाएको धारणा अघि सार्दै उहाँले स–साना योजनाका लागि पनि पहिला देशकै राजधानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । सुदूरपश्चिम सरकार गरिब जनताको सरकार भएकाले कमजोर वर्गका लागि काम गर्दै आएको उहाँको भनाइ थियो । राजनीतिक उपलब्धिलाई बचाइराख्नका लागि एकताबद्ध भएर सबैले अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । सीमा क्षेत्रमा बसोबास गर्ने जनताले जङ्गली जनावरबाट समस्या झेल्दै आएकाले त्यसको निदानका लागि ‘फेन्सिङ’ लगाउनका लागि बजेटको यथोचित व्यवस्था गरिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया