जनकपुरधाम– उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारी नियुक्तिविना कार्यविधि बनाएर गरिएको भन्दै उनीहरूलाई काम गर्न तथा सेवा सुविधामा रोक लगाएको छ । उच्च अदालत जनकपुरका न्यायाधीस धीरबहादुर चन्दको एकल इजलासबाट सो आदेश भएको हो ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनअनुसार पदाधिकारीहरूको नियुक्ति नगरिएको भन्दै उच्च अदालत जनकपुरले काम, तलब तथा सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो । प्रदेश २ सरकारले प्रदेशभित्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरेको थियो ।
सो प्रतिष्ठानमा प्रदेश सरकारले उपकुलपतिमा डा. रामकेवल साह, शिक्षाध्यक्षमा डा. अंकुर साह र रजिष्ट्रारमा डा. विनोदकुमार यादवलाई नियुक्त गरेको थियो । तीनै जनाको नियुक्ति नियमसंगत नरहेको भन्दै देवानन्द झाले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका थिए ।
सो मुद्दामा न्यायाधीश चन्दको एकल इजलासले सुनुवाइ गर्दै प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरू कानुनसम्मत नरहेको भन्दै तत्काल कामकाज, तलव सुविधामा रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन ४४ अनुसार विनियम र कार्यविधि नबनाई गरिएका नियुक्तिहरु कानुनसम्मत भएको देखिँदैन ।’ अदालतले तत्काल विनियम र कार्यविधि नबनुञ्जेल नियुक्तिहरू कार्यान्वयन नगर्नु, कामकाज, तलब सुविधा उपलब्ध नगराउनु भनि अन्तरिम आदेश दिएको छ ।
बिरामीभन्दा चिकित्सक बढी
प्रतिष्ठान गठन भएपछि मधेसको स्वास्थ्य क्षेत्रमा निकै निकै सुधार आउने दाबी गरिएपनि अहिले त्यो कार्यकर्ताहरुको भर्तीको केन्द्र बनेको छ । ३ असारमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा उद्घाटन गरेको कोभिड विशेष अस्पतालमा अहिलेसम्म २५ जनामात्रै बिरामी उपचारको लागि आएका छन् । जबकी ती अस्पतालमा २२ जना मेडिकल अधिकृत, ३० जना स्टाफ नर्स, आठजना हेल्थ असिस्टेन्ट, दुईजना मेडिकल ल्याब, दुईजना रेडियोग्राफी, दुईजना एडमिस्ट्रेट, १० जना कार्यालय सहयोगी तथा सुईपर लगायत ८५ जनाको दरबन्दी छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भइरहेको ती अस्पतालमा बिरामीको अभाव देखाएर त्यसमा काम गर्ने चिकित्सक, नर्स लगायतले हाजिरी गरेर अन्तै आफूले सञ्चालन गरेको क्लिनिक वा निजी अस्पतालमा काम गर्ने गरेका छन् ।
कोभिड विशेष अस्पतालका प्रमुख डा. जामुन सिंहले अहिले कोभिडको अवस्था समान्य छ, बिरामीहरू आइरहेका छैन, बिरामी नै नआएपछि चिकित्सक र कर्मचारी के गर्ने बताउनुभयो । कर्मचारी नियुक्तिदेखि रहेक कार्यमा आफन्तहरूलाई राखिएको छ ।
प्रतिक्रिया