अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पपुवा न्यूगिनीविरुद्ध नेपाल २ विकेटले विजयी

पपुवा न्यूगिनीविरुद्ध नेपाल २ विकेटले विजयी


काठमाडौं– पपुवा न्यूगिनीसँगको पहिलो एकदिवसीय मैत्रीपूर्ण म्याचमा नेपाल २ विकेटले विजयी भएको छ ।

पीएनजीले दिएको १ सय ३५ रनको लक्ष्य नेपालले ३९.४ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा ब्याटिङमार्फत् रोहितकुमार पौडेल र सोमपाल कामीले महत्वपूर्ण योगदान दिए । रोहितले ६५ बलमा ४१ र सोमपालले ३२ बलमा २२ रन बनाए ।

त्यस्तै, कुशल भुर्तेलले १५, आशिफ शेखले ३०, कप्तान ज्ञानेन्द्र मल्लले ६, आरिफ शेखले ९, शरद भेषवाकरले ६, कुशल मल्लले एक रनको योगदान दिए । पवन सराफ भने शून्यमै आउट भए ।

बलिङमा गौड टोकले तीन, डेमियन रावु, चाड सोपरले दुई/दुई र नौसेना पोकानाले एक विकेट लिए ।

त्यसअघि. टस जितेर पहिला ब्याटिङ गरेको पीएनजी ३३ ओभरमा १ सय ३४ रनमै अलआउट भयो ।

उसका लागि लेगा सियाकाले ३०, चार्ल्स अमिनीले २३, गौडी टोकले २२, विकेटकीपर किल्पिन डोरिगाले १५, ससेस बउले १४ र चाड सोपरले अविजित १७ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ३५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।

उनले ससेस बउ, चार्ल्स अमिनी, जसन कायल र नौसना पोकानालाई आउट गरे । त्यस्तै, कुशल मल्ल, विक्रम सोबले दुई/दुई र सोमपाल कामीले एक विकेट हात पारे ।

नेपाल र पीएनजीबीचको दोस्रो वानडे म्याच बिहीबार हुनेछ । त्यसपछि नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ ।

सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ ।