अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

३६ वर्षे अर्थमन्त्री, जसले पछार्नुभयो एमालेका हस्ती नेता

३६ वर्षे अर्थमन्त्री, जसले पछार्नुभयो एमालेका हस्ती नेता


काठमाडौं– बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यसपटक युवा नेतृ रचना खड्काको काँधमा पुगेको छ ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्न लागेको मन्त्रिपरिषदमा उहाँलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । बुधबार दिउँसाेका लागि सपथ तय भए पनि मन्त्रालय बाँडफाँटको अन्तिम सहमति भने भइनसकेको खड्काले जानकारी दिनुभयो ।

खड्कासँगै सिन्धुलीका प्रदीप कटुवाल,रामेछापका शान्ति प्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, काठमाडौँका अजय क्रान्ति शाक्य ,चितवनका विजय सुवेदी, मकवानपुरकी जुनेली माया श्रेष्ठ भक्तपुरकी सरस्वती बस्नेत र नुवाकोटका बद्री मैनाली र ललितपुरका जीवन खड्कालाई विभिन्न मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको नेकपा एमाले बागमती प्रदेशका मुख्य सचेतक दिपक निरौलाले जानकारी दिनुभयो ।

अर्को सहमति नभए ती सबैको मन्त्रालय टुंगो लागेको, तर सार्वजनिक गर्ने अवस्थामा भने पुगिनसकेको खड्काले बताउनुभयो । एमालेभित्रको विवादका कारण केन्द्रदेखि प्रदेशसम्मका सरकारमा हेराफेरी हुँदा विगतमा माधव नेपालसँग निकट रहेर हाल एमालैमै फर्किनुभएकी खड्काले प्रदेशसभामा पुराना एमाले नेतालाई पछि पार्दै ३६ वर्षकै उमेरमा महत्वपूर्ण मन्त्रालयको जिम्मवारी पाउन लाग्नुभएको हो ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गरेको मन्त्रिपरिषद्मा उहाँ सबैभन्दा कान्छी मन्त्री बन्नुहुनेछ ।

५ असार ०४१ सालमा जन्मिनुभएकी खड्काको राजनीतिक यात्रा ०५५ सालबाट सुरू भएको हो । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यको जिम्मेवारीबाट विद्यार्थी राजनीति सुरू गर्नुभएकी खड्का ०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष हुनुहुन्थ्यो । ०५६ सालमा प्राक अध्यक्ष हुनुभएको उहाँ सोही वर्ष अनेरास्ववियुको जिल्ला सदस्यमा निर्वाचित हुनु भएको थियो ।

०५७ सालमा जिल्ला सचिव हुनुभएकी खड्काले ०५९ सालमा अनेरास्ववियुको जिल्ला नेतृत्व सम्हाल्नुभएको थियो । अनेरास्ववियुको १६औँ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित हुनुभयो ।

१७औँ राष्ट्रिय सम्मेलनबाट अखिलको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी रचना १८औँ र १९औँ सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुख विभागको जिम्मेवारी निर्वाह गर्नुभयो ।

जनकपुरमा सम्पन्न २०औँ राष्ट्रिय सम्मेलनमा सचिव जितेकी रचना एमालेको ९औँ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा विजयी हुनुभयो ।

एमाले विभाजनका बेला तत्कालीन माधव नेपाल समूहको बागमती प्रदेश कमिटी सचिवको हैसियतमा काम गर्नुभएको उहाँ पार्टी औपचारिक विभाजनमा आइपुग्दा मूलघरमै बस्नुभयो

मुख्यमन्त्री शाक्यसँगै एमालेमा रहनुभएकी रचना प्रदेशसभा सदस्यमा निवार्चित भएपछि पहिलोपटक मन्त्री बन्न लाग्नुभएको हो । –न्युज कारखाना