अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा एमाले विभाजनको विपक्षमा अधिकांश जनप्रतिनिधि

बागलुङमा एमाले विभाजनको विपक्षमा अधिकांश जनप्रतिनिधि


बागलुङ– स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट निर्वाचित बागलुङका अधिकांश जनप्रतिनिधि पार्टी विभाजनको विपक्षमा उभिएका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेभित्रको चरम अन्तरसंघर्षको बेला माधव नेपाल पक्षमा वकालत गर्ने जनप्रनिधि पनि पार्टी फुटाउने अभियानको विपक्षमा रहेका हुन् ।

जिल्लाको १० स्थानीय तहमा नेकपा एमालेको सूर्य चिह्नबाट निर्वाचित १३८ जना जनप्रतिनिधि छन् । तिमध्ये तीन जना वडाध्यक्षसहित सात जनाले नवगठित नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका–३ का वडाध्यक्ष यामबहादुर श्रीस, ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरिबहादुर घर्ती नेकपा (एस) पार्टीमा सनाखत गरे । बागलुङ नगर कार्यापालिका सदस्य सीता थापा, जैमिनी नगरपालिका कार्यापालिका सदस्य बलबहादुर नेपाली, ढोरपाटन नगर कार्यापालिका सदस्य सदस्य यामु कामी र बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बोसेलले नयाँ पार्टी रोजेका हुन् ।

नेकपा (एस) पार्टी दर्ता भएर जनप्रतिनिधिलाई पार्टी रोज्ने २१ दिने सूचना निर्वाचन आयोगले जारी गरेपछि बागलुङमा पहिलो पटक काठेखोला गाउँपालिका–३ धम्जा वडा कमिटीले एमाले फुटको विपक्षमा उभिने निर्णय गरेको थियो । यद्यपि अन्तिम समयमा एमाले वडा कमिटी सदस्य समेत रहेका वडाध्यक्ष श्रीसले नयाँ पार्टीमा सनाखत गरे ।

अधिकांश जनप्रतिनिधि दल परिवर्तनको सनाखत गर्न नआएपछि साविककै दलमा सूचिकृत भए । स्थानीय तहको निर्वाचनबाट बागलुङ नगरपालिकामा कार्यापालिका सदस्यसहित ६०, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १८, तमानखोला गाउँपालिकामा ५, बडिगाड गाउँपालिकामा २९, जैमिनी नगरपालिकामा एक जना तथा जिल्ला समन्वय समितिमा दुई जना जनप्रनिधि सूर्य चिह्नबाट निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरी फरक पार्टीको निर्वाचित चिह्नबाट चुनाव जितेको अन्य जनप्रतिनिधिले पनि एमालेमै रहने बताएका छन् । राष्ट्रिय जनमोर्चाको गिलास चिह्नबाट जैमिनी नगरपालिका–४ को वडाध्यक्षमा निर्वाचित चक्रबहादुर थापाले नेकपा (एस) पार्टीमा सामेल हुने बताएका थिए । तर गिलास चिह्नबाट चुनाव जितेको हुँदा उनले दल रोज्न पाएनन् । उनी एमाले जिल्ला कमिटी सदस्य थिए । अन्य स्थानीय तहमा फरक चुनाव चिह्नबाट चुनाव जितेको एमाले नेताहरुले दल परिवर्तन गरेको सार्वजनिक गरेका छैनन् ।

स्थानीय निर्वाचनमा बागलुङ नगरपालिकामा एमालेबाट जनकराज पौडेल, ढोरपाटन नगरपालिकाबाट देवकुमार नेपाली, उपप्रमुख करमति पुन, काठेखोला गाउँपालिका अध्यक्षमा अमरबहादुर थापा, बडिगाड गाउँपालिका अध्यक्षमा मेयरसिंह पाईजा र जैमिनी नगरपालिका उपमेयरमा लिला राना निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुख साविक एमालेमै रहेका छन् । –न्युज कारखाना