अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव–वामदेव बहिर्गमनपछिको एमाले

माधव–वामदेव बहिर्गमनपछिको एमाले


कृतघ्नतको पराकाष्ठा
“मुहूर्तमपि जीवेद्धै नरः शुक्लेन कर्मणा
न कल्पमपि कष्टेन लोकद्वयविरोधना ।”

आचार्य चाणक्यको मत छ– ‘उज्ज्वल कर्म गर्ने मानिस एक पल बाँचे पनि उत्तम हो तर यो लोक र परलोक(कीति पक्ष र यश पक्ष) दुबै लोकलाई कष्ट पुगाउने मानिस कल्प कल्प बाँचे पनि उसको जीवन व्यर्थ हो ।’

जननेता मदन भण्डारीले ४१ वर्षको अल्पायुमा एमालेलाई दिएको वैचारिक, राजनीतिक र जनाधार सहितको बलियो जग र ढल्दो उमेरसम्म पनि माधव–वामदेवले एमालेमाथि थोपरेको सास्ती र कृतघ्नताको सिलसिलाबारे चाणक्यलाई थाहा थिएन तर भएको छ त्यस्तै । २०५० साल जेठ ३ गते दासढुंगा हत्याकाण्डमा जननेता भण्डारी र जीवराज आश्रितलाई गुमाउनु एमालेले भोग्नु परेको ठूलो बज्रपात थियो । एमालेका लागि त्यहाँ भन्दा घातक, कस्टसाध्य र प्रत्यूत्पादक रह्यो माधव–वामदेवको तीन दशक लामो शक्ति ऐठन । मदन र जीवराज जोडाले पस्किएको सकारात्मक केन्द्रिय भूमिकाभन्दा विपरीत र बिल्कुलै भिन्न घनचक्करमा फसाएर माधव–वामदेव जोडाले एमालेको गति र प्रगतिमा बाधा हाल्दै आयो । सल्लाह नहुने र गोप्यता नरहने भड्खालोमा जाकेर यो जोडाले एमालेको शक्ति ऐठन पा¥यो । विगत तीन दशकमा यो जोडाले एमालेमाथि गर्न बाँकी राखेका कुनै पनि हर्कतहरु शेष रहेका छैनन् । एमाले पृथ्वी जस्तै सहनशील पार्टी भएर हो नत्र यो जोडाले आफ्नो आकांक्षापूर्तिको लागि एमालेलाई जीवनभर हलोमा जोतिने र मरेपछि पनि जुता बनेर दलिने गोरुको छालाको हालतमा पारेको छ । यो अपराधी जोडीले एमालेलाई लिस्नो बनाएर कद बढायो तर पालोको पैँचो तिर्नुपर्ने बेला त्यही एमाले चोइट्याउन युगदेखि युगसम्म कांग्रेसबाट करोडका करोड र अरबका अरब सुपारी असुलेको छ । मरे जिउँदै सुख पाएन गोरुका छालालेको हालतमा एमालेलाई बारम्बार पारेको छ । यो जोडाले एमालेमाथि लादेको अत्याचार, कृतघ्नता, स्वेच्छाचारिता, परपार्टीभक्ति, ताबेदारी र परपार्टी मोह जति निन्दा गरे पनि कमै हुने तहको छ ।

कहिले मिलेर त कहिलै मिले जस्तो गरेर, कहिले भिडेर त कहिले भिडे जस्तो गरेर एमालेलाई कुम्लो भारी तैँ बोक गर्नमा माधव र वामदेव बीच गएका तीन दशकमा होड चलिरह््यो । एक काँधमा परिवारको बोझ अर्काे काँधमा प्राणभन्दा प्यारो पार्टी र मातृभूमि बोक्नुको सन्तुलनमा रहने बानी परेका एमाले संगठकहरुले यो जोडालाई शंकाको फाइदा दिदै आए । मनमोहन, मदन र जीवराज जस्ता आफ्नो लागि अतिरिक्त महत्वाकांक्षा र निजी स्वार्थको लामो सूचि नभएका राजनेता बस्ने कुर्सीमा चरम महत्वाकांक्षाको अगस्ती भोकले आव्रmान्त राष्ट्रिय आवाराहरु पुगेको भेउ पाउन र लगभग एकै निष्कर्षमा पुग्न सक्कली एमालेको वृहत कबिलालाई तीन दशक लाग्यो । रित्ता गोठका उपियाँबाट अघाएका किर्ना बनेका माधव र वामदेव अघाएको किर्नाझै आफै भुइँमा नझरेको भए सायद एमालेमाथिको राष्ट्रिय आवाराहरुको शक्ति ऐठन अझै केही दशक कायमै रहने थियो । एमालेमै रहने हो भने समस्याका पोका भएर पनि माधव र गौतम जनदण्डका भागेदार हुन असंभव थियो । जसलाई जनदण्डको भागेदार हुने गरी नियतिले दपेट्ने गर्छ, उसले एमालेको लक्ष्मण घेरा पार गर्न रुचाउँछ । नकारात्मक ढंगले नै सही हरेक खलनायकले आफुलाई दण्डित गर्ने एक नायक शक्तिको आविस्कार गर्छ । जुन जनता जनाद्र्धनले मदनको इहलीलासँगै एमाले पनि समाप्त पार्ने देशी विदेशी षडयन्त्रलाई असफल पार्दै निभ्न लागेको एमालेको दियोमा तेल थपे; जुन जनता जनाद्र्धनले २०५४ सालमा एमाले सिध्याउन हिडेका वामदेव गौतमलाई उहीँ हिरा चेली उहीँ देउली डाँडो गर्दै पुनः एमालेकै आँगन र एमालेकै शरण पर्न बाध्य हुने गरी फुटवादको प्रतिमालाई दण्डित पारे; जुन जनता जनाद्र्धनले सिंहझै सबैलाई हप्किदप्की गर्दै हिड्ने प्रचण्डलाई दण्डित गर्दै झुण्ड बिना बाँच्नै नसक्ने ब्वाँसोको हालत झारेर देउवालाई गोली हान्नेबाट देउवाकोमा गोठालो लाग्न जान बाध्य हुने जुनीमा उतारे; जुन जनता जनाद्र्धनले नाकाबन्दी लादेर नेपाललाई पनि भुटानलाई जस्तै पराधीनताको परेड खेलाउने दाउमा रहेको मोदी प्रशासनलाई उल्टै घुँडा टेकाए; तिनै जनता जनाद्र्धनले लिम्पियाधुरा प्राप्तीको देशभक्तिपूर्ण अठोटबाटका भगौडाहरु प्रचण्ड र उनका अनुचर माधव र वामदेवको गद्दारीको हिसाबकिताब मागेरै छाड्ने छन् ।

माधव–वामदेवमुक्त एमाले
माधवमुक्त एमाले इतिहासको माग थियो । नेकपा कालदेखि नै माधवको बहिर्गमनमा वामदेवको भूमिका सुडेनीको जस्तो रह्यो । माधव–वामदेवको शक्ति ऐठनबाट उन्मुक्ति एमालेका लागि २०७० सालमा अशोककुमार राई, रामचन्द्र झाको बहिर्गमन जस्तै फलिफापमय हुनेछ । राई र झा सहितको एमाले २०६४ सालमा संविधानमा ३३ सिटमा खुम्चिएको थियो भने यो जोडा रहितको एमाले २०७० सालमा ९१ स्थानमा उक्लेको थियो । माधव र वामदेव बहिर्गमनको हाउगुजी देखाएर एमाले संगठकहरुको उच्च मनोवलसँग जिस्कने जति युगले गरेको साउती बुझ्दैनन् र जनताको चेतनाको स्तरमाथि विश्वास राख्दैनन् । उपरी संरचनामा रहेर एमालेको मति, गति, लय र प्रगति रोक्ने तत्वबाट उन्मुक्तिपछि एमालेको पोल्टामा सफलता नै सफलता पर्ने छ । किनकी नेपालको भूगोल सानो र जनसंख्या कम भएर मात्र हो नत्र दक्षिण एशियामा एमाले संगठनको सामथ्र्य भारतमा भाजपा र अफगानिस्तानमा तालिबानको भन्दा पनि मजबुत छ । बरु तालिबान र भाजपा संगठकहरुमा नझुके पनि नचुक्नुने समस्या छ तर एमाले संगठकहरुको अद्वितीय सद्गुण नझुक्नु र नचुक्नुको सन्तुलन हो । सत्ता र सडक दुबै एमालेका लागि पराई होइनन् र अप्रिय छैनन् । संकटलाई अवसरमा रुपान्तरण गर्ने, दुःखलाई जनता जनाद्र्धनको न्यानो काखमा रहने मौका ठान्ने र सत्तालाई जनताका दुःखकष्ट घटाउने माध्यम ठान्ने एमाले संगठकहरु संघर्षमै जन्मिन्छन् संघर्षमै हुर्किन्छन् र संघर्षमै जीवनबाट बिदा हुने जीवनशैलीमा ढालिएका छन् । फलामे रगतको रसायनले बनेका बहुदलीय जनवादीहरु नेपाली जनताको काख, धाप, छाप र आशीर्वाद प्राप्त शक्ति रहेकाले उनीहरुलाई समाप्त पार्न माधव र वामदेवहरुले पाउदै आएको सुपारी फेरि पनि निरर्थक हुने निश्चित छ । बहुदलीय जनवादीहरुको एउटै गल्ती थियो, छुचुन्द्रोको टाउकोमा चमेली तेल भनेझै भारतीय उक्साहटमा नेपाल राष्ट्र खारेज गर्न र नेपालको कम्युनिष्ट आन्दोलन तहसनहस पार्न तयार पारिएका प्रचण्डप्रति नरमभाव राख्ने माधव र वामदेवलाई समयमै दण्डित गर्नुको सट्टा पोस्नुसम्म पोस्नु ।

माधव र गौतमको बहिर्गमन एमालेको लागि हरियो घाँसमा घुसेको हरियो सर्पको बहिर्गमन जस्तै हाइसञ्चोको विषय हो । उनीहरुको बहिर्गमनपछि एमालेमा प्रभावी रहेका तीन वटा विरासत बीच मनपेटदेखि एकता, उदाहरणीय सहकार्य र लोभलाग्दो सहअस्तित्वको ढोका खुल्ने छ । माधव र वामदेवको कष्टसाध्य उपस्थिति र खलनायकीय भूमिकाका कारण आधुनिक एमालेको आकर्षण भनौं वा जीवनतत्व ‘ओली लहर’ एकातिर र युगदेखि युगसम्म एमालेका लागि ‘काँध थापेका हस्तीहरु’ अर्काेतिर भएर एमालेले कहिलै पनि सम्पूर्ण निखारमा आउन पाएन । ओली लहर, काँध थापेका हस्तीहरु र जनयुद्धका हस्तीहरु आधुनिक एमालेरुपी ओदानका तीन खुट्टा हुन् । राष्ट्रिय राजनीतिमा, मातृभूमिको साह्रोगाह्रोमा र आधुनिक राष्ट्र–राज्यको मेरुदण्ड मानिने राजनीतिक दलमा सानो परिवारमा बाक्लो दाल खाने संकीर्णता काम लाग्दैन । प्र्रचण्ड, माधव र वामदेवको प्राथमिकतामा राष्ट्र पहिलो प्राथमिकतामा कहिलै परेन । पार्टी र साथीका प्रतिको चिन्ताले नेतात्रयलाई कहिलै सताएन । नेकपा र आधुनिक एमालेमा प्रचण्ड, माधव र गौतम अटाउन नसक्नुको मोटो कारण स्वभाविक छ । राष्ट्र र जनतालाई शिरमा राख्ने बहुदलीय जनवादीसँग अहंकारका आखेट प्रचण्ड, माधव र वामदेवको रसायन नै मिलेन । मातृभूमि र पार्टीलाई तपसिलमा पारेर महत्वाकांक्षा र अहंकारलाई प्राथमिकतामा पार्ने नेतात्रयको विनाशकाले विपरीत बुद्धिको बहुदलीय जनवादीहरु सती जान तयार भएनन् । यसरी नेकपा र आधुनिक एमालेको मूल प्रवृत्तिलाई चिन्न नसकेर नेतात्रय भौतारिनु आफ्नै नाभीबाट आइरहेको बासना थाह नपाएर खोजिहिड्ने मृगको जस्तै नियति हो ।

राजा र राजावादी, कोइरालाकालीन नेपाली कांग्रेस, माधवकालीन एमाले, उत्कर्षकालका प्रचण्ड सबैबाट वाक्कदिक्क नेपाली जनताको चाह र आकर्षण ओली युगको एमालेतिर मोडियो । ओली लहरको उछाल सुरुदेखि नै प्रचण्ड, माधव र वामदेवलाई न रुचेको थियो न पचेको थियो । ओलीप्रतिको जलन उनीहरुमा यति थियो कि जनमतको माध्यमबाट सत्तामा पुगेको संसारको एक मात्र वामपन्थी सरकार ढालेर जनताले दिएको जनादेशको धज्जी उडाउँदै शासन सत्ता दक्षिणपन्थी पूँजीवादी पार्टी नेपाली कांग्रेसलाई किस्तीमा सजाएर सुम्पिन उनीहरुलाई लाजघिन लागेन । प्रचण्ड–माधवको मूल समस्या पार्टीमा कार्यकर्ताको अदालतको र देशको भूगोलभित्र जनताको अदालतको निगरानी, नियन्त्रण, अदप र डरलाई स्थान नदिने बहुदलीय जनवाद प्रतिकूलको आचरणनेर थियो । जनताको परीक्षणको विषय हुन अस्वीकार गरेर प्रचण्ड, माधव र वामदेवले जनतासँग जोरी खोजेका छन् । उनीहरुलाई दण्डित गर्ने तागत नेपाली जनतासँग छ । आगामी दिनमा जनता जनाद्र्धनले उनीहरुलाई दण्डित गर्ने अभियानको भरपर्दो सारथी बन्न सक्ने कला र आँटमै एमालेको भाग्य परीक्षा हुनेछ । जनताको अदालतको साउती थाह पाउने तीक्ष्णताको बलमा नै एमालेले आफ्नो गौरवमय परिचय पत्र नवीकरण गर्ने छ ।

एमालेले सबैभन्दा पहिला आफुलाई चिन्नु छ, आफ्ना संवेदनशीलता जान्नु छ र अभेद्य एकता कायम गरी एक हार्नै नहुने चुनावी संग्राममा आधुनिक सिकन्दर शक्तिका रुपमा उभिनु छ । आजको एमालेले पाएका प्रमुख तीन विरासत यसप्रकार छन् :

ओली लहर
२०६४ सालको चुनावी पराजयपछि एमाले उत्कर्षकालको माओवादी सामु दब्बू नेतृत्वले थलिएको थियो । सेनापति काण्डको बाहनामा सत्ताकब्जाको प्रचण्ड रुचिमा तगारो बनेर उभिएयता नेपालमा केपी ओलीप्रति मात्र भरपर्ने गरी जनमत उछालिन सुरु भयो । भूकम्पपछिको उद्धार, राहत र पुननिर्माणमा ओली नेतृत्वको एमालेले देखाएको जनसेवी भूमिका र नाकाबन्दीको सामना गर्ने आँट र अठोटले ओली लहर आधुनिक नेपालको जीवित सत्य बन्ने आधार तयार भयो । एमाले विरुद्ध गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउबाबाट अनेक प्रकारका षडयन्त्र र जालसाँझी नभएका होइनन् तर देउबा र दाहालबाट २०७४ सालमा एक नितान्त भिन्नै प्रकारको हर्कत भयो । दुई ठूला पार्टी मिलेर एमाले सिध्याउने हर्कत देउबा र दाहालबाट भयो । ओली लहरको बलले गर्दा स्थानीय निकायको चुनावमा एमाले उल्टै देउबा र दाहालको ओठतालु सुकाउन र जोडी टुटाउन सफल भयो । एक अर्कासँग कुकुर–बिरालाको जस्तो समन्ध भएका प्रचण्ड र माधव, माधव र वामदेव, माधव र झलनाथ, देउवा र प्रचण्ड, प्रचण्ड र वाबुराम एक ढिक्का हुनुको मूल कारण ओली लहरप्रतिको त्रास हो । ओली लहरलाई सङ्लिएको एमालेले एकमतका साथ आफुसँग भएको अमोघ अस्त्र ठान्नु पर्दछ ।

पार्टीलाई काँध थापेका हस्तीहरु
एमालेको नवौं महाधिवेशन ओली लहर र पार्टीलाई काँध थापेका हस्ती बीचको टक्कर थियो । सीपी, मदन, माधव र वामदेवलाई काँध थापेका कुशल संगठक र अध्यक्ष ओली बीच सुरताल मिलेमा एमालेको शक्ति र सामथ्र्यमा निखार आउने भएकाले माधव र वामदेवसँग गडबडी गरिरहनुपर्ने बाध्यता थियो । माधवको एमालेद्वेषी चरित्र थाह पाएपछि अमृतकुमार बोहरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य जस्ता पाकापुराना हस्ती, सुरेन्द्र पाण्डे, भीमबहादुर रावल, भीम आचार्य, रघुजी पन्त जस्ता कुशल संगठकहरु र घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई, ठाकुर गैरे जस्ता संभावना बोकेका हस्तीहरुले लिएको यु टर्न मोड र परिपक्वता आजको एमालेको एक महत्वपूर्ण पूँजी हो । ओली लहर र पार्टीलाई काँध थापेका हस्ती बीच बल्ल भो भेट र खोली दिल पेटको स्थितिको ढोका खुलेको छ । यसरी माधव र वामदेवको बहिर्गमन एमालेका लागि एक दुर्लभ अवसर हुन सक्ने आधार खडा भएको छ ।

जनयुद्धको विरासत
सबैथोकले भरिपूर्ण भएपनि हिजोको एमालेसँग जनयुद्धको सकारात्मक विरासत थिएन । नोयडा केन्द्रित प्रचण्ड र बाबुरामका कारण जनयुद्धको विरासत विषाक्त भएकाले त्यसप्रति एमालेलाई खासै मतलब पनि थिएन । तर अदालतको फैसलाले नेकपाकोदर्ता खारेज गरी एमाले ब्युत्याएपछि र जनयुद्धका पहिलो कमाण्ढर रामबहादुर थापा बादल सहितका हस्तीहरुले संकटापन्न एमालेलाई काँध थापेपछि जनयुद्धको असल विरासत अव एमालेको एक रसायन बन्न पुगेको छ । नोयडामुखी नभै नुवाँगाउँमुखी जनयुद्धका हस्तीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, लेखराज भट्ट, प्रभु शाह जस्ता हस्तीहरुको टहल गर्ने चौडा छातीले नै एमालेलाई साँचो अर्थमा वामपन्थी आन्दोलनको एकताको लागि भगिरथ प्रयास गर्ने शक्तिका रुपमा स्थापित गराउने छ ।

र अन्तमा
ऋषिमुनिहरुले अनेक विषयमा अनेक ढंगले लेखे तर राजतन्त्रको रवाफ, दबाब, र प्रभावमा परेर जनताको बारेमा जे हो, त्यो लेख्न सकेनन् । उनीहरुले र्ईश्वरका बारेमा जे लेखे, त्यो सबै जनताको नाममा नलेखेर घुमाउरो ढंगले एक तीर दुई गरेका छन् । ईश्वरको महिमा, व्यापकता, अजरता, अमरता, अविनाशिता, करुणा, कू्ररता; सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको परमतपी भूमिका र शक्ति आजको युगमा जनतामा छ । जनता नै भगवान् हुन् । जनताको सर्वोच्चताको आधार चेतना, शक्ति, शिप, श्रम र यीँ सबैको सदुपयोग गर्न सक्ने कला हो । मानव चेत नै मानव जातिको श्रेष्ठता स्थापित गर्ने सबैभन्दा ठूलो हतियार हो । जनताको यही अपरम्पार शक्तिमा विश्वास गर्नु नै एमालेको राजनीतिक श्रेष्ठताको आधार हो । जनताको शक्तिका अगाडि कसैका पनि आग्रह र पूर्वाग्रह, इगो र आकांक्षाहरु गौण विषय हुन् । अब प्रश्न उठ्छ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र प्राप्तीको आन्दोलनको बलियो किल्लाको रुपमा रहेको नेकपा फुटाउने र एमाले टुटाउने प्रचण्ढ, माधव र वामदेवलाई नेपाली जनताले त्यसै छोड्लान् कि दण्डित गर्लान् ? आजसम्मको इतिहास र प्रवृत्ति हेर्दा देशविरुद्धको यस हर्कतलाई जनता जनाद्र्धनले क्षमा दिने छैनन् । जीवनको उत्तराद्र्धमा रहेका प्रचण्ड, माधव र वामदेवलाई जब जनताले दण्ढित गर्ने छन् तब आचार्य चाणक्यले रामको महत्तामा रचेको यो श्लोक नेपाली जनतामा रहेको अपम्पार शक्ति चित्रणमा पनि लागु भएको मानिने छ–
“काष्ठं कल्पतरुः सुमेरुरचलस्चिन्तामणि प्रस्तरः
सूर्यस्तीव्रकरः शशी क्षयकरः क्षारोहि वारांनिधिः
कामो नष्टतर्नुबलिर्दिति सुतो नित्यं पशुः कामगौ–
नैतांस्ते तुलयामि भो रघुपते ! कस्योपमा दीयते ।”

अर्थात्– ‘कल्पवृक्ष काठ हो, सुमेरु पहाड हो, पारसमणि ढुंगो हो, सूर्य किरण तातो छ, चन्द्रप्रकाश क्षयकर छ, समुन्द्र चर्को र गम्भीर छ, कामदेव शरीरहीन छ, दानवीर बलि दैत्य हो, कामधेनु गाई पशु हो । हे राम ! तपाईको यीँ कसैसँग तुलना हुँदैन । तपाईंलाई के उपमा दिऊँ ?’