अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओखलढुंगामा एमालेलाई जेठ २ मा फर्काउने प्रयास

ओखलढुंगामा एमालेलाई जेठ २ मा फर्काउने प्रयास


ओखलढुंगा– नेकपा एमालेको केन्द्रीय सर्कुलरअनुसार जिल्ला कमिटी ओखलढुंगालाई २ जेठ मा फर्काउने प्रयास सुरू भएको छ । नेकपा गठन हुनुपूर्वको एमालेको जिल्ला कमिटीको बैठक राखेर त्यसको सुरुवात गरेको केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले जानकारी दिनुभयो ।

केन्द्रको सर्कुलरअनुसार आयोजना गरिएको बैठकमा भने जिल्ला कमिटीका बहुमत सदस्यमात्र उपस्थित भएका थिए । सर्कुलर कार्यान्वयन र जिम्मेवारीका सन्दर्भमा असहमत नेताहरु भने बैठकमा उपस्थित भएनन् ।

यद्यपि बैठकले एमाले र माओवादी एकीकरण पूर्वको स्थानीय तह र जिल्लाको संरचना सक्रिय बनाउने निर्णय गरेको छ । एमालेको माधव समूहका सचिव र ओली समूहका समानान्तर कमिटीका सचिव बैठकमा सहभागी भएनन् ।

माधव समूहमा रनुभएका सचिव हर्कबोल राई र ओली समूहले बनाएका सचिव तीर्थ सुवेदी दुवै बैठकमा अनुपस्थित रहनुभएको थियो । बाहिर स्वास्थ्यको कारण बताइए पनि खास कारण भने १० बुँदेमा उनीहरूको असहमति नै हो । राई संविधानसभा सदस्य तथा जिल्लामा स्थापित नेता हुन् । उहाँको अनुपस्थितिले एमाले जिल्ला नेतृत्वलाई झस्काएको छ ।

उहाँजस्तै माधव समूहमा लागेका धेरैजसो जिल्ला कमिटी सदस्यहरू बैठकमा अनुपस्थित हुनुभयो । ओली समूहको विधान विपरीतका काम र गतिविधिले वाक्क भएका नेता कार्यकर्ता धेरै निष्कृय भएका छन् । उनीहरूमध्ये कतिले एकीकृत समाजवादी रोजेका छन् भने कति तटस्थ बसेका छन् ।

एमाले जिल्ला सचिव शंकर कटवाल केही असन्तुष्टि भए पनि विस्तारै समायोजन भएर जाने बताउँछन् । एमाले विभाजनले जिल्लामा खास असर नपर्ने उनको तर्क छ । जिल्लामा एक मात्र जनप्रतिनिधि समाजवादीमा लागेको भन्दै प्रभाव शून्य रहेको उनको दावी छ । यद्यपि बैठकमा अनुपस्थित रहेका नेताहरू एमालेमा सक्रियतापूर्वक नलाग्ने हो भने एमालेको आधा संगठन भत्किने देखिएको छ ।

जिल्ला कमिटी बैठकले ८ स्थानीय तहमा पूर्ववत् कमिटीले काम गर्ने र २ जेठ कार्यान्वयनमा आउने समस्या समाधानका लागि जिल्ला अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी निर्माण भएको छ । पार्टीले यस्तो निर्णय गरे पनि युवा तथा विद्यार्थी संगठनमा नेतृत्वबारे आ-आफ्नै दावीले विवाद बढ्दै गएको छ । –न्युज कारखाना