अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन

पेरुका कम्युनिस्ट नेता गोन्जालोको कारावासमै निधन


जेल जीवन बिताइरहेका पेरुका कम्युनिस्ट नेता अबिमाएल गुजमन ‘गोन्जालो’को ८६ वर्षको उमेरमा निधन भएको छ ।

१९९२ मा समातिएका उनले राज्यबाट आतंककारीको रुपमा सिंगो जीवन जेलमै बिताए । शनिबार सैनिक अस्पतालमा उनको निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

संसारभर चर्चा पाएको पेरुको कम्युनिस्ट आन्दोलन ‘साइनिङ पाथ’ को नेतृत्व गरेका गोन्जालो सशस्त्र विद्रोह गरे वापत समातिएका थिए । केही केही दिनदेखि उनको स्वास्थ्य निकै बिग्रिएपछि अस्पताल लगिएको थियो ।

स्थानीय समय अनुसार शनिबार बिहान ६ बजेर ४० मिनेटमा उनको निधन भएको हो ।

गोन्जालोले पेरुमा पनि माओको बिचारलाई वर्ग युद्धमार्फत लागु गर्ने भनी १९८० मा सुरु गरेका थिए । उनले पेरुमा किसान र कट्टरपन्थी विद्यार्थीहरुलाई समेट्दै साइनिङ पाथ नामको विद्रोही समूह बनाएर सशस्त्र आन्दोलन सुरु गरेका थिए ।

पेरुमा १९८० देखि २००० मा साइनिङ पाथको आन्तरिक संघर्षको क्रममा ६९ हजार मानिस मारिएका थिए । गोन्जालोका अनुयायीहरु उनलाई मार्क्स, लेनिन र माओपछिको आदर्श नेताको रुपमा मान्ने गर्छन् । अर्थात् उनलाई मार्क्सवादको चौथो नेतृत्व मान्ने गर्छन् ।

सान अगस्टिन विश्वविद्यालयमा उनले कानून र दर्शन अध्ययन गरेका थिए । उनी एक आदर्शवादी र अध्ययनशील नेता मानिन्थे । उनी १९९२ मा पक्राउ परेपछि उनलाई यहाँको सरकारले आजीवन कारावासको फैसला गरेको थियो । त्यसलगत्तै पेरुको साइनिङ पाथ आन्दोलन पनि तहसनहस बन्न पुगेको हो ।

१९९२ मा राजधानी लिमामा २५ जना मारिने गरी भएको कार बम हमलाको आरोपमा समेत २०१८ मा गोन्जालोमाथि दोस्रो पटक आजीवन कारावासको फैसला सुनाइएको थियो । गोन्जालोले दुई बिहे गरेका थिए । दुबै महिला साइनिङ पाथका नेत्री थिए ।