अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला-तिङ्कर जोड्ने सडकमा नेपाली सेनाले काम सुरु गर्दै

दार्चुला-तिङ्कर जोड्ने सडकमा नेपाली सेनाले काम सुरु गर्दै


दार्चुला– त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गरेको हो ।

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताउनुभयो ।

निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ । मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ । स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ ।

वि. सं. २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म अगाडि बढ्न सकेको थिएन । महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ । यो अवधिमा ४३ किलोमिटर सडक निर्माणको ट्र्याक खुलाइएको छ । सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैंले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो ।

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ । दार्चुला-तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउनुहुन्छ । “विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।”

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ । नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ । चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउनुहुन्छ । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ । “आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ”, पौडेलले भन्नुभयो ।