काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) को पछाडि लागेर राजनीतिक जीवन अन्त्य नगर्न आग्रह गर्नुभएको छ ।
आज गृह जिल्ला झापामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
‘प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई सहज गर्नु चाहन्छु, आग्रह गर्न चाहन्छु आह्वान गर्नु चाहन्छु, देश बनाउ कसैका छोरी, ज्वाई, ससुराका लागि बलिदान नहुनुस्,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले प्रचण्ड सबै हिसाबले राम्रो भए पनि धोकेबाज नेता भएको बताउनुभयो ।
‘प्रचण्ड राम्रो सम्धी, राम्रो सुसुरो, राम्रो ज्वाई, राम्रो बाबु, राम्रो काका भएपनि बेइमान नेता हुन् । उहाँ सबै हिसाबले राम्रो हुनुहुन्छ । एउटा मात्र खराबी छ त्यो हो छट्टु नेता, धोकेबाज नेता,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले प्रचण्डले चुनावअघि नै आफूहरू हार्ने स्वीकार गरिसक्नुभएको समेत उल्लेख गर्नुभयो ।
‘प्रचण्ड जीले सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुार बुझेको देखेर मलाई खुसी लाग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले माधवकुमार नेपालको पार्टीले चुनावमा वडा सदस्यसमेत नजित्ने पनि बताउनुभयो ।





प्रतिक्रिया