अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौं’

‘पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौं’


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोख्नुभएको छ ।

पोष्टबहादुर बोगटीको ७औं स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलि बढी नै लगाव देखिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

उहाँले आफ्नो पार्टी यो बीचमा कही न कही आफ्नो उद्देश्यबाट विचलित भएको पनि उल्लेख गर्नुभयो । ‘वर्ग, उत्पीडित जाति समुदायको निम्ति जसरी सम्पूर्ण रूपले समर्पित भएर आफ्नो व्यक्तिगत हित स्वार्थलाई त्याग गरेर बलिबेदीमा हामी होमिन हिँड्थ्यौं । लडाइँको मोर्चामा जान पाउँ भनेर हुन्थ्यो, तर आज त्यस्तो छैन,’ प्रचण्डले भन्नुभयो, ‘आज हामी व्यक्तिगत पद र स्वार्थका निम्ति अलि बढी नै लगाव देखाएका छौं । गुट बनाउनेतिर जाँगर देखाएका छौं । पार्टी बनाउने होइन, गुट बनाउनेतिर फाइदा हुन्छ भनेर सोच्ने प्रवृत्ति देखिएको छ । पार्टीको क्रान्तिकारी चरित्र विस्तारै विस्तारै स्खलित हुँदै अरु बुर्जुवा पार्टीजस्तै हुने दिशातिर गइराखेको छ ।’

पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक संरचना निर्वाचन निर्देशिका, निमयवाली, विधि, पद्धति विकास गरेर चल्नुपर्ने उहाँले बताउनुभयो । ‘हामी एउटा विशाल पार्टी हौं । नेता कार्यकर्ताको संख्याको कुरा गर्ने हो भने, आन्दोलनमा समर्पण र भावनाको कुरा गर्ने हो भने अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक विशाल पार्टी हो । यसको तुलना अरुसँग हुँदैन,’ उहाँले भन्नुभयो, ‘आन्दोलनमा जाने जुर्मुराएर उठ्ने पार्टी नेता कार्यकर्ता यसै पार्टीमा छन् । ५ पुसको प्रतिगमनविरुद्ध आन्दोलन नेतृत्व गर्यौ । क्रान्ति भनेपछि अहिले पनि त्यसरी नै लाखौको संख्यामा सडकमा आउन तयार रहेछन् । हामी अलिअलि बिग्रयौ भनेर ठानेको जनता बिग्रेका रहेन छन् ।’