काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको शक्ति कम नभएको बताउनुभएको छ । काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो, तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठ्यो । र, पार्टी भत्काउन दिँदैनौँ । मास्न दिँदैनौँ भनेर रक्षामा उभियो । र, आज पार्टी ज्युँकात्युँ जस्ताको त्यस्तै खडा हुन सफल भयो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमालेको भूमिका परिवर्तन भयो तर शक्ति परिवर्तन भएको छैन । हाम्रो उद्देश्य परिवर्तन भएको छैन । नीतिहरू परिवर्तन भएको छैन । हाम्रो संगठनमा पनि केही परिवर्तन भएको छैन ।’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) लाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुट मात्रै अलग भएको बताउनुभयो ।
‘नेकपा माओवादी केन्द्रका त्यो पृष्ठभूमिका साथीहरुको ठूलै हिस्सा एकता तोड्न मानेन, र पार्टीमै रह्यो । पार्टी एकीकरणकै पक्षमा रह्यो । एकीकृत पार्टीकै रुपमा रामबहादुर थापाजी यही हुनुहुन्छ, टोपबहादुर रायमाझीजी, लेखराज भट्टजी लगायतका साथीहरू, यही रहनुभयो । र, माओवादी केन्द्र । नाम त छ । तर, अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुट मात्रै हो,’ उहाँले भन्नुभयो ।





प्रतिक्रिया