अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किएः ओली

माधव नेपालले घरमा आगो लगाए, खरानी घसेर तीर्थयात्रामा निस्किएः ओली


काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गर्नुभएको छ ।

काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’

देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीले बताउनु भयो । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उहाँले बताउनुभयो, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’

माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गर्नुभयो ।

‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भन्नुभयो ।

कम्युनिस्को सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भन्नुभयो, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’
– न्युज कारखाना