अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल ‘होम सिक’ भएर फर्किनुहुन्छ : योगेश भट्टराई

माधव नेपाल ‘होम सिक’ भएर फर्किनुहुन्छ : योगेश भट्टराई


पोखरा- नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरु एमालेमै फर्किने दाबी गर्नुभएको छ ।

पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उहाँले अहिले पनि विभाजनमा लागेकाहरुको मनमा एमाले नै रहेकोले मुल पार्टीमा फर्किने दाबी गर्नुभयो । ‘जो विभाजन लाग्नुभयो, उहाँहरुमा टिप्पणी छैन । धेरै नेता कार्यकर्ताको मनमा एमाले नै छ । अब माधव कमरेडले सपना देख्दा पनि एमाले नै देख्नुहुन्छ । उहाँलाई होम सिक जस्तै एमालेसिक हुन्छ । उहाँ यतै आउनुहुन्छ,’ भट्टराईले भन्नुभयो, ‘उहाँ एमालेमा फर्किनुको विकल्प छैन । असफल प्रयत्नतिर नजाऔं । त्यसले कुनै शक्ति आर्जन गर्न सक्दैन, कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक कुनै काम छैन ।’

पार्टी पंक्ति र नेताहरुको सुझबुझका कारण विभाजनको असर खासै नपरेको उहाँको भनाइ छ । ‘जे कोसिस गर्‍यौं । यसले विभाजनको असर निकै कम भयो । जति तल गयो, विभाजनको असर उति कम भयो,’ उहाँले भन्नुभयो, ‘पार्टी विभाजन गर्नु हुन्न भन्ने एकताको पक्षधर साथीहरु एकजुट हुनुभयो । अझै अत्यन्त मेहनत गर्छौं । जहाँ घाटा लागेको छ, त्यसको पूर्ति गर्नुपर्छ ।’

कांग्रेस र माओवादीका कार्यकर्ता तानेर एमालेको क्षति पूर्ण गर्ने उनको भनाइ छ । ‘माओवादीका तल्लो तह निराश छन् । हामीले उनीहरुलाई एमालेमा आउन अपिल गरौं,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका साथीहरुलाई पनि भनौं । हिजो भोट नहालेकाहरुलाई पनि एमालेमा आकर्षित गरौं ।’