अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौता पोखरी प्रदेश १ कै धार्मिक पर्यटकीय गन्तव्य बन्दै

रौता पोखरी प्रदेश १ कै धार्मिक पर्यटकीय गन्तव्य बन्दै


उदयपुरको रौता पोखरीलाई धार्मिक तथा पर्यटकीयस्थल प्रदेशकै गन्तव्य स्थल बनाउन स्थानीय तह लागिपरेका छन् । रौतामाई गाउँपालिका–६ मा पर्ने धार्मिक तथा पर्यटकीयस्थल रौता पाखेरीलाई पर्यटनसँग जोडेर प्रदेशकै उत्कृष्ट गन्तव्य बनाउन रौतामाई गाउँपालिका र छिमेकी त्रियुगा नगरपालिका लागिपरेका छन् ।

रौतामाई गाउँपालिकाले रौताको समग्र विकासका लागि पटक-पटक छलफल गर्दै बृहत् गुरुयोजना नै तयार गरिसकेको छ । रौताको धार्मिक तथा पर्यटकीय विकासमा सहयोग गर्न छिमेकी स्थानीय तह त्रियुगा नगरपालिका, लिम्चुङबुङ गाउँपालिका, उदयपुरगढी गाउँपालिकाले पनि सहकार्य गर्ने गरी साझा कार्यक्रम अघि बढाउँदै आएको छ । स्थानीय तह पुनर्संरचना हुनुअघि जिल्लाकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय थियो, रौतापोखरी ।

जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल रौता पोखरीलाई रौतामाई गाउँपालिकाले पनि प्रमुख प्राथमिकतामा राखेर विकास र प्रबर्द्धन गर्न लागेको अध्यक्ष गजेन्द्रबहादुर बताउनुभयो । उदयपुरकै महत्वपूर्ण धार्मिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसको विकास र प्रवर्द्धनमा आफूहरू लागिपरेको अध्यक्ष खड्का बताउनुहुन्छ ।

रौता पोखरीले सिंगो जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलको प्रतिनिधित्व गरिरहेको छ, खड्काले भन्नुभयो, ‘यसलाई थप आकर्षक र महत्व दिन गाउँपालिकाले प्रमुख प्राथमिकता दिएर कार्यक्रम अघि बढाएको छ । छिमेकी स्थानीय तहका जनप्रतिनिधिले पनि साथ सहयोग दिइरहनु भएको छ ।’

गाउँपालिकाले रौता पोखरीको विकास र समृद्धिका लागि यसअघि गठन भएर क्रियाशील रहेका रौतामाई धार्मिक विकास संस्था, रौता पर्यटन विकास केन्द्र, रौता धार्मिक तथा पर्यटन केन्द्र, रौता सामुदायिक विकास केन्द्रलगायत आधा दर्जन बढी संघसंस्थासँग पनि सहकार्य गर्दै आएको छ ।

रौतामाई गाउँपालिकाले रु.९ लाख ५० हजार लगानी गरेर रौता पोखरीको विकास र प्रवर्द्धनको खाका समेट्ने गरी गुरुयोजना तयार गरेको अध्यक्ष खड्काले बताउनुभयो । त्यसमा रौता पोखरी र आसपासको भूगोल, वनस्पति, जलाधार, वन्यजन्तु आदिको विस्तृत अनुसन्धानसमेत गरेको खड्काको भनाइ छ ।

रौतामाईसँग भूगोल जोडिएको त्रियुगा नगरपालिकाको अर्को पर्यटकीय सम्भावना बोकेको स्थल वडा नम्बर १६ को बेलदोभानदेखि रौतापोखरीसम्म जोड्ने गरी दुवै स्थानीय तहको साझेदारी रहने केबलकार सञ्चालन गर्न डीपीआर निर्माण गरि संयुक्त कम्पनीसमेत निर्माण गरिएको त्रियुगा नगरपालिकाका नगर प्रमुख बलदेव चौधरीले जानकारी दिनुभयो ।

त्रियुगा नगरपालिका–१६ का बागनङ्ग्रे गुफा, बेलदोभान झर्ना र केराखेतीको प्रमुख स्थल बेलदोभानमा बरुवा खोलामा बाँध निर्माण गरि सिंगो नगरपालिकालाई कृषि, विद्युत र पर्यटकीयस्थलको रुपमा विकास गर्दै त्रियुगाले बेलदोभानलाई पर्यटकीयस्थल बनाउन नगरसभाबाट प्रस्ताव पारित गरिसकेको छ ।

त्रियुगाको योजनासँग जोडेर रौतामाईले बेलदोभानलाई आधार शिविर बनाएर रौतापोखरीसम्म जान आउन केबलकार सञ्चालन गर्न डीपीआर निर्माण गरि संयुक्त लगानी गरेको अध्यक्ष खड्काले बताउनुभयो । केबलकार सञ्चालन गर्नका लागि बेलदोभानदेखि रौतापोखरीसम्म करिब ६।५ साढे ६ किलोमिटर दूरी रहेको छ । बेलदोभानदेखि रौतापोखरीसम्म केबलकार जोड्ने हो भने विद्यमान मूल्यमा करिब रु.५ अर्ब रुपैयाँ लगानी लाग्ने बताइएको छ ।

बेलदोभान–रौतापोखरी केबलकार विस्तारका लागि त्रियुगा नगर प्रमुख बलदेव चौधरीको आग्रहमा गोसाइँकुण्ड केबलकार प्रालिसँगको साझेदारीमा सम्भाव्यता अध्ययन भई डीपीआर बनेको हो । गाईघाटबाट मोटरबाटो हुँदै जान करिब साढे तीन घण्टा लाग्दछ । गाईघाटबाट करिब ४६ किलोमिटर दुरी रहेको रौता पोखरी पुग्न कच्ची बाटो भएकाले लामो समय लागेको हो । – न्युज कारखाना