काठमाडौं – सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरु हुने गर्छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानसाथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवं सोह्र श्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिसाथ परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
दशैं मनाउनुअघि पितृलाई तृप्ति गर्ने परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको मान्यता छ । सोह्र श्राद्धको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् दशैं सुरु हुन्छ ।
सोह्रश्राद्धमा काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गर्छ । कोभिड संक्रमण जोखिम कायमै रहेकाले यस्ता कार्य गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया