काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । दिउँसो १ बजे बसेको बैठकमा एमाले सांसदको अवरोधबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकसम्बन्धी प्रस्ताव टेबुल गर्न अनुमति दिनु भयो ।
त्यसअघि राष्ट्रिय सभा बैठकको सुरुमै बोल्नुहुँदै नेकपा एमाले सांसद देवेन्द्र दाहालले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकार ढाल्नुको कारण पुष्टि गर्न नसकेको बताउनुभयो । ‘यो सरकारले अघिल्लो सरकार ढाल्नुको औचित्य पुष्टि गर्न सकेको छैन । यो सरकार संविधान ध्वस्त बनाउन लागेको छ ’ उहाँले भन्नुभयो, ‘यो सरकार चिर निद्रामा परेको छ । खासमा यो सरकार नै होइन स्वार्थीहरुको झुण्ड मात्रै हो।’
दाहालले दल विभाजनसम्बन्धी अध्यादेश पार्टीहरू र यो व्यवस्था कमजोर बनाउन ल्याइएको बताउनुभयो । । ‘यो अध्यादेश पार्टी र व्यवस्थालाई कमजोर बनाउन ल्याइएको हो । यो सरकार जनउत्तरदायी छैन । परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी छैन’ उहाँ भन्नुहुन्छ, ‘वर्तमान परिस्थितिमा संसदमा पनि गुरिल्ला अभ्यास भइरहेको छ । अगाडिबाट आदेश आएपछि तलबाट गुरिल्ला शैलीमा दौडेर बजेट पेस गर्न पुगेको छ ।’
‘विपक्षीहरुसँग संवादका लागि यो सरकारले ध्यान नै दिएको छैन । वर्तमान सरकारले जनताको विपक्षमा काम गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘जनतासँग प्रत्यक्ष जोडिएका सडक कटौती गरिएको छ । त्यस क्षेत्रका जनता यो सरकारका होइनन्, यो सरकरले समृद्धि होइन, गरिबी दिइरहेको छ ।’







प्रतिक्रिया