गण्डकी-गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पोखरा–१६ बाटुलेचौरस्थित महेन्द्र तथा चमेरो गुफाको आज अध्ययन अवलोकन गर्नुभएको छ ।
प्राकृतिक गुफाको रुपमा परिचित विन्ध्यवासिनी माविको व्यवस्थापन तथा संरक्षकत्वमा सञ्चालित महेन्द्र गुफाको अवलोकनपश्चात प्रदेश प्रमुख गुरुङले यसको व्यवस्थित विकास गर्न सुझाव दिनुभयो ।
महेन्द्र गुफा विश्वकै प्रमुख पर्यटकीयस्थल बन्न सक्ने आधार प्रसस्त रहेको भन्दै उहाँले सबैको प्रयासबाट यसको थप सौन्दर्यकरण बढाउनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रदेश प्रमुख गुरुङलाई समितिका संयोजक गुरुदत्त भट्टराईले गुफाको वर्तमान अवस्था, विकास निर्माण तथा व्यवस्थित विकासको गुरुयोजनाका विषयमा जानकारी गराउनुभयो ।
उहाँले गुफा विकासका लागि प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहेको बताउँदै, थप विकासका लागि पनि ध्यानाकर्षण गराउनुभयो । कोभिड महामारीको दोस्रो लहरका कारण वैशाख १४ गतेदेखि बन्द रहेको महेन्द्र तथा चमेरो गुफा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर यही असोज १ गतेबाट सञ्चालनमा आएको बताउँदै यसअघि पनि कोभिड महामारीका कारण नौ महिना गुफा बन्द भएको थियो ।







प्रतिक्रिया