अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने सरकारको तयारी

४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने सरकारको तयारी


काठमाडौं– सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३२९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.कृष्ण पौड्यालले जानकारी दिनु भयो ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको उहाँले बताउनु भयो । ४० वर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४५० रुपैयाँ लाग्ने जानकारी दिनुभयो ।

सरकारले यो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ४० वर्ष माथिका नागरिकको रक्तचाप, पिसाब तथा रगतमा ग्लुकोज जाँच, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको वर्षमा एकपटक निःशुल्क जाँचको व्यवस्था गरेको थियो । सोही नीति कार्यान्वयन स्वरुप ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्न लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रत्येक वर्ष ३ हजार जनाको मिर्गौला फेल हुने गरेको बताउँदै मिर्गौला फेल भएकाहरुलाई डायलासिस गर्न प्रयाप्त मेसिन नरहेको बताउनुभो । उहाँले प्रत्येक जिल्लामा डायलासिस सेन्टर र प्रत्येक प्रदेशमा मिर्गौला प्रत्यारोपण अस्पताल बनाउन आवश्यक रहेको समेत जानकारी गराउनु भयो ।