काठमाडौं– डा. बेदुराम भूसाल नेकपा (एकीकृत समाजवादी)को महासचिव हुने निश्चित भएको छ ।
भूसालसहित मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, डा. गंगालाल तुलाधार, प्रकाश ज्वाला र डा. विजय पौडेल महासचिवको दौडमा हुनुहुन्थ्यो ।
अध्यक्ष माधवकुमार नेपालले बिहीबार सबै आकांक्षीसँग बसेर भूसालको नाम तय गर्नुभएको सहभागी एक नेताको भनाइ छ ।
भूसाल लामो समयदेखि नेता नेपालका निकट सहयोगी भएर काम गर्नुभएको थियो ।
मंगलबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज (बिहीबार) पनि बस्दै छ।
बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्यबारे निर्णय गर्ने छ ।
एकीकृत समाजवादीको अन्तरिम विधानअनुसार पार्टीमा अध्यक्ष एक, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारी रहनेछन्। यी सबै गरेर ११५ पूर्ण र ३६ वैकल्पिक सदस्य गरी केन्द्रीय कमिटी १५१ सदस्यीय हुनेछ।
यस्तै केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहनेछन्।







प्रतिक्रिया