चितवन- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताउनु भएको छ ।
भरतपुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले दशैं अघि एक लाख डोज खोप ल्याइने जानकारी दिनुभयो । बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’
आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।’ फरक प्रसंगमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताउनुभयो ।
भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया