रुकुमपूर्व-गत वैशाख महिनामा बुकी पाटन उक्लेका भेडी गोठ अहिले बेँसी झार्न थालिएको छ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा फिरन्ते जीवनशैलीका भेडी गोठालाले धमाधम गोठ बेँसीतीर झार्न थालेपछि मानिस सँगसँगै बस्तुभाउको चहलपहल गाउँमा पनि बढ्न थालेको छ ।
हिन्दू धर्मावलम्बीका पर्व दशैं, तिहार नजिकिएसँगै पाटनबाट भेडी बथान गोठालासहित बेँसी झर्नेक्रम सुरु भएको हो । गएको वैशाखमा बुकी पाटनमा उक्लिएका भेडी बथान र जेठको महिनामा उक्लिएका गाईको बथान गाउँमा झर्नेक्रम चलिरहेको पुथाउत्तरगङ्गा गाउँपालिका–१० का विकास बुढामगरले बताउनुभयो ।
बेँसी अर्थात् गाउँघरमा घाँसपात र चरन क्षेत्रको अभाव भएपछि हरेक वर्षमा पुथाउत्तरगङ्गा गाउँपलिकाका सबै कृषक आफूले पालेका बस्तुभाउसहित वैशाखमा बुकी पाटनमा उक्लने गरेका छन् । अब चिसो मौसम सुरु हुन थालेसँगै बुकी पाटनबाट गोठाला भेडाबाख्रा र गाईको बथानसहित बेँसी झर्न शुरू गरेको बुढाले बताउनुभयो ।
तकसेराकै अर्का भेडी गोठाला जोडे बुढाका अनुसार वैशाखदेखि असोजसम्मको करीब ६ महिने अवधि पाटनमा गएका गोठालाले गोठ र त्रिपालमुनि भेडाबाख्रासँगै बिताउने गर्छन् । सुरक्षाका लागि कुकुर साथमा राख्ने गरेका उनीहरुले खाद्यान्नसहित त्यहाँ जाने गर्छन् । उनीहरुले भेडालाई नै खाद्यान्न बोकाएर लगेका हुन्छन् । उनीहरु बुकीमा दुइ/दुई महिनाको अवधिमा ठाउँ फेर्दै हिँड्ने गरेको बुढाले बताउनुभयो ।
पुथाउत्तरगङ्गा गाउँपालिकाका कृषकले माथिल्लो क्षेत्र भिरकोटी, चौँरी, रेबाङ, नरसिङ, पुपाल, रानीखर्क, देउरालीलगायत पाटनमा भेडाबाख्रा र गाईको बथानसँग छ महिना बिताउने गरेको पुथाउत्तरगङ्गाका सुवा बुढामगरले बताउनुभयो । पशुपालनको राम्रो सम्भावना भएको पुथाउत्तरगङ्गाका अधिकांश कृषकले भेडा र गाई पालेका छन् । कतिपयले बाख्रा पनि पाल्ने गरेका छन् । पुथाउत्तरगङ्गा हिमाली क्षेत्र भएकाले पनि बाह्रै महिना एकै ठाउँमा बसेर व्यावसायिक पशुपालन (भेडापालन) गर्न भने सकिँदैन ।
चिसो मौसम सुरु हुन थालेसँगै बेसी झारिएका तीनै भेडी बथानलाई अबको एक महिनापछि तातो ठाउँ खोज्दै रुकुम (पश्चिम), रोल्पा, सल्यान, सुर्खेत, दाङलगायतका क्षेत्रमा झार्ने बुढाले बताउनुभयो । उहाँकाअनुसार तातो ठाउँ खोज्दै यी ठाउँमा पुगेका गोठालाले चैतको अन्तिम साता पुनः भेडी बथानलाई गाउँ फर्काउने गर्छन् । पुथाउत्तरगङ्गाका अधिकांश मानिसले घरमा ५०/६० देखि ५००/६०० सम्म भेडाबाख्रा पाल्ने गरेका छन् ।
प्रतिक्रिया