काठमाडौं– नेपालका एकमात्र अर्बपती कर तिर्न चाहिँ किन पहिलो हुँदैनन् भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषणको प्रभाव परेको छ ।
ओलीको टिप्पणीलगत्तै अर्बपती विनोद चौधरीको चौधरी ग्रुपले कर विवरण सार्वजनिक गरेको छ । चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।
चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ ।







प्रतिक्रिया