उदयपुर- मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी आर्थिक अनियमितता गरेको अभियोगमा उदयपुरका पाँच जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित तत्कालीन गाविस सचिव लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
सचिवहरुले मृत्यु दर्ता भएपछि मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरुका नामका साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।
सात–आठ वर्षअघि नै मृत्यु भइसकेकाको व्यक्तिका नाममा आर्थिक वर्ष २०६३/६४ सालदेखि २०७१/७२ सालसम्ममा बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी अनियमितता गरेको अख्तियारकाले जानकारी दिइएको हो । उजुरीपछि छानबिन गर्दा रु.१६ लाख ४० हजार ५०० रुपैयाँ हिनामिना गरेको खुल्न आएको आयोगले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसँग रु.९ लाख ९० हजार ५००, लोकेन्द्र कार्कीसँग ७८ हजार, विशाल सुन्दाससँग ८२ हजार, माधवप्रसाद खतिवडासँग तीन लाख १४ हजार र पुष्पराज सिग्देलसँग एक लाख ७६ हजार रुपैयाँ बिगो सजायको मागदाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ को उपदफा ३५ बमोजिम अदालतमा आरोपपत्र दायर गरेको हो ।
तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य हाल मालपोत कार्यालय उदयपुरमा कार्यरत हुनुहुन्छ । त्यस्तै लोकेन्द्र कार्की रौतामाई गाउँपालिका–७ को वडा सचिव हुनुहुन्छ । त्यसैगरी, विशाल सुन्दास तथ्यांक कार्यालय उदयपुरमा कार्यरत हुनुहुन्छ । त्यस्तै माधवप्रसाद खतिवडा रौतामाई गाउँपालिकाको कार्यालयमा शाखा अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ भने सिग्देलले सेवाबाट अवकाश पाइसकेका छन् ।







प्रतिक्रिया