काठमाडौं – युट्युब च्यानल मार्फत् महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेको छ ।
दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका नुवाकोटका २७ वर्षीय शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका मोरङका ३५ वर्षीया पिंकला कार्की र मोडर्न अनलाइन टीभी युट्युब च्यानलका दोलखाका २४ वर्षीय रोधन तामाङलाई बुधबार पक्राउ गरेको हो ।
युट्युबरले युट्युब च्यानलमार्फत पीडित महिलाको तस्वीरसहित चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेपछि महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको थियो । सोही उजुरीको छानविन गर्नका लागि चार जना युट्युबरलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताउनु भयो ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको अर्यालले जानकारी दिनु भयो ।
प्रतिक्रिया