काठमाडौं -नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधीहरु काठमाडौं आउने क्रम सुरु भएको छ ।
भोली दिउसो ११ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्ध्घाटन गर्ने विधान महाधिवेशनमा देशभरीबाट करिब ६ हजार जना प्रतिनिधीहरु संघीय राजधानी आउदैछन् ।
एमालेको इतिहासमा नै पहिलो पटक हुन लागेको विधान महाधिवेशनले पार्टीको भावी कार्यदिशा,पार्टीको विद्यमान विधानमा केही संसोधन,संघीयता प्रतिकुलका विधानका व्यवस्थाहरु परिमार्जन गरेर संघीयता अनुकुल बनाउने एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
तीनदिन सम्म सञ्चालन हुने विधान महाधिवेशनमा प्रादेशिक रुपमा छलफल गराएर विधानका बारेमा थप सुझावहरु लिइने छ ।
महाधिवेशनमा छलफलका लागि प्रष्तुत हुने विधान स्थायी र केन्द्रीय कमिटीले पास गरेर तयार गरेको छ । खासगरी पार्टीमा ७० वर्षको उमेर हद,कतिजना उपाधक्ष्य तथा पदाधिकारी रहने,कार्यकारी पदमा दुई कार्यकाल मात्र रहने प्रावधान कहिले देखि लागु हुने जस्ता विषयहरुमा गहनन छलफल हुने एमालेले जनाएको छ । ‘पार्टी र संगठनलाई थप मजवुद बनाउन,विगतमा भएका तिक्तता मेट्न र आगामी निर्वाचनमा बहुमत हासिल गर्नका लागि विधान महाधिवेशन कोशेढुंगा सावित हुने विश्वास छ’ भट्टराईले भन्नुभयो ।
को को हुन् प्रतिनिधी
नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार विधान महाधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारी लगायत स्थायी कमिटी सदस्यहरु,केन्द्रीय कमिटीका सबै सदस्यहरु,पार्टीका सदस्य रहेका संघीय तथा प्रदेश साँसदहरु,प्रदेश कमिटीका सबै सदस्यहरु,जिल्लाका चार चारजना पदाधिकारी सहित हरेक निर्वाचन क्षेत्र समटिने गरी दलित एक,महिला एक,जनजाती एक र खुला एक प्रतिनिधी रहने व्यवस्था छ । जिल्ला समन्वय समितीमा पार्टीका तर्फबाट विजयी भएका प्रमुख तथा उपप्रमुखहरु,पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका प्रमुख तथा उपप्रमुखहरु प्रतिनिधी रहने छन् । यसैगरी जनसंगठन र पेशागत संगठनबाट पदाधिकारीहरु,केन्द्रीय निकाय र विभागबाट १० ÷१०जनाका दरले चुनिएका प्रतिनिधीहरु महाधिवेशन प्रतिनिधी रहने छन् ।
यसैगरी भारत लगायत प्रवास कमिटीहरुबाट चुनिएका प्रतिनिधी र विधान बमोजिम पार्टी केन्द्रले मनोनित गरेका सदस्यहरु गरेर करिब ६ हजार जाना प्रतिनिधी रहने थापाले जानकारी दिनुभयो ।
प्रतिनिधीहरुलाई बिहानको खाना र दिउसोको खाजा कार्यक्रम स्थल मै पार्टीले व्यवस्थापन गरेको छ । साँझको खाना र बासको प्रवन्ध प्रतिनिधी स्वयंले गर्नुपर्ने पार्टी केन्द्रीय कार्यलयले जनाएको छ ।







प्रतिक्रिया