डोटी-जिल्लाको पूर्वी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकाले यस वर्षको दशैं बिदा घटाएर पालिकाभरिमा रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना महामारीका कारण लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइमा निकै घाटा भएको जनाउँदै यो वर्षको दशैं बिदामा विद्यालय सञ्चालन गर्न सबै सामुदायिक विद्यालयलाई पत्राचार गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका संयोजक खेमबहादुर साउँदले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो वर्ष यहाँका सामुदायिक विद्यालयमा विगतका वर्ष जस्तो दशैं बिदा नदिइने र बिदा असोज २६ गतेदेखि ३१ सम्म मात्र बिदा दिइने छ । जिल्लामा दशैं बिदा घटाएर विद्यालयमा नियमित पठनपाठन सुचारु गर्न पत्राचार गर्ने बोगटान फुड्सिल गाउँपालिका पहिलो गाउँपालिका रहेको भन्दै यहाँका अभिभावक तथा विद्यार्थी निकै खुशी भएको स्थानीय प्रकाश बमले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीले विद्यालय बन्द हुँदा पढाइ भएको थिएन, अझ दशैंमा पनि धेरै बिदा दिएको भए विद्यार्थी पढाइ नै बिर्सिने सम्भवना थियो, पालिकाले दसैँ बिदामा पनि पढाइ सुचारु गर्न पत्र पठाएको छ, यो राम्रो कुरा हो ।”
प्रतिक्रिया