अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : रामचन्द्र पौडेल

जित्ने र हार्ने मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्छ : रामचन्द्र पौडेल


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई स्वभाविक रुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिनुभयो ।

‘जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ’, पौडेलले भन्नुभयो, ‘तबमात्र कांग्रेस बलियो बन्छ ।’ लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै उहाँले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गर्नुभयो । ‘देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ’, उहाँले भन्नुभयो ।

सिंहदरबारका अधिकार गाउँगाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो । नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उहाँले टिप्पणी गर्नुभयो । ‘नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ’, उहाँले भन्नुभयो । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा भानु नगरसमितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो ।