काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका कमिटीमा रहने सदस्यहरूको सिलिङ तोकेको छ ।
विधान महाधिवेशनबाट सदस्यको सिलिङ तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभयो । अब एमालेका सबै कमिटीको आधार संख्या ५० हुनेछ । प्रदेश कमिटीमा ५० सदस्य रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिने पौडेलले बताउनुभयो ।
उहाँले कर्णाली प्रदेशको उदाहरण दिनुहुँदै आधार संख्या ५० हुनेछ भने १२ निर्वाचन क्षेत्रबाट पाँच-पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्ने जानकारी गराउनुभयो ।
त्यसैगरी जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिनेछन् । यो हिसाबले एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछन् ।
पालिका कमिटीको हकमा पनि ५० आधार संख्या रहने र प्रत्येक वडाबाट ५ जनाको दरले थपिनेछन् । अब त्योभन्दा बढी संख्यामा कमिटी गठन हुन नपाउने पौडेलले बताउनुभयो ।
एमालेको केन्द्रीय कमिटी २२५ सदस्यी रहनेछ । सबै कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्थासमेत विधानमै राखिएको छ ।





प्रतिक्रिया