काठमाडौं-नेकपा एमालेको केन्द्रीय सदस्य हुनका लागि मापदण्ड बनाएको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा छलफलपछि सहभागीहरूले दिएको सुझावअनुसार केन्द्रीय कमिटी सदस्य हुनका लागि मापदण्ड बनाएको उपमहासचिव विष्णु पौडेलले बताउनुभयो ।
नवौं महाधिवेशनले पारित गरेको विधानलाई परिमार्जन गर्दै प्रथम विधान महाधिवेशनले केन्द्रीय समिति उम्मेदवार बन्नका लागि मापदण्ड बनाएको हो ।
यसअघि तोकिएको पार्टी सदस्य भएको १५ वर्ष हुनुपर्ने भन्ने प्रावधान हटाएर १० वर्ष कायम गरिएको छ । त्यस्तै केन्द्रीय सदस्य बन्नका लागि केन्द्रीय निकायको सदस्य भएको वा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएको व्यक्ति योग्य हुने भएको छ । त्यस्तै केन्द्रीय विभागको सचिव वा सदस्य, जिल्ला कमिटीको पदाधिकारी वा दुईपटक सदस्य भएको तथा प्रदेश कमिटी सदस्य भएको व्यक्ति केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्य हुनेछन् ।
यस्तै, जिल्ला कमिटीको पदाधिकारी भइ एक कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको अथवा कम्तीमा १० वर्ष पार्टी सदस्य भइ काम गरेको व्यक्तिले पनि केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बन्न पाउनेछ । तर, दलित, महिला सीमान्तकृत जनजाति, अपांगता भएका व्यक्तिका हकमा भने एक कार्यकाल जिल्ला कमिटी सदस्य र ७ वर्ष पार्टी सदस्य भए केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न सक्ने पौडेलले जानकारी दिनुभयो ।





प्रतिक्रिया