काठमाडौं -नेकपा एमालेका कमिटीहरु अब साना र छरिता हुने भएका छन् ।
कमिटीहरु ठूला र भद्धा भएकोले तिनलाई छाट्नु पर्ने सुझाव महाधिवेशनका प्रतिनिधीहरुले प्रष्तुत गरेका थिए । उपमहासचिव विष्णु प्रसाद पौडेले पेश गरेको विधान प्रतिवेदनमा सुझावहरु राख्दै दश वटै सुझाव समुहले कमिटीमा आवद्ध हुने व्यक्तिको संख्या घटाउन सुझाव दिएका थिए ।
सहभागीहरुको सुझाव वमोजिम एमालेले अब आफ्ना कमिटीहरुमा आवद्ध हुने कार्यकर्ताको संख्यामा भारी कटौती गरेको छ । अहिले कतिपय प्रदेश कमिटी ६ सय जनाका छन् भने कतिपय जिल्ला कमिटी ५सय जनासम्मका छन् । यसले पार्टी भित्र कार्यकर्ताको मूल्यांकनको विधी हराएको,सिनीयर,जुनियरको कुनै हिसाबकिताव नभएको भनेर गुनासो पनि उत्तिकै आएपछि निश्चित विधी तय गरेर अबका कमिटीहरु निर्माण हुने भएका छन् ।
पौडेलका अनुसार एमालेको केन्द्रीय कमिटीमा अध्यक्ष १,बरिष्ठ उपाधक्ष्य १ उपाधक्ष्य ४,महासचिव १,उपमहासचिव १ र सचिव ७ जना गरी १५ जना पदाधिकारी रहनेछन् ।
यसैगरी केन्द्रीय कमिटी २सय २५ सदस्यीय हुनेछन् । यसमा ३३ प्रतिशत महिलाको संख्या हुनेछ । केन्द्रमा रहने तीनवटा आयोग निर्वाचन आयोग,अनुशासन आयोग र लेखा आयोग १५ सदस्यीय हुनेछन् । जसमा अध्यक्ष,उपाधक्ष्य र सचिवको प्रवन्ध छ । आयोगका अध्यक्षले मात्र पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा सहभागी हुन पाउनेछन् ।
यस्तै गरी प्रदेशमा ५० सदस्य हलबाट चुनिने छन् भने हरेक संघीय निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले थप सदस्य चयन हुनेछन् । उदाहरणका लागि कर्णालीमा १२ वटा संघीय निर्वाचन क्षेत्र छन् । त्यहाँबाट ६० जना र हलले चुन्ने ५० जना गरेर कर्णालीको प्रदेश कमिटी १सय १० जनाको हुनेछ ।
यसैगरी राजधानी उपत्यका विशेष प्रदेश कमिटीमा पनि ५० जना हलबाट चुनिने छन् भने प्रत्येक जिल्ला कमिटीबाट पाँच जनाका दरले प्रतिनिधित्व हुनेछ ।
जिल्ला कमिटीमा पनि हलबाट ५० जना चुनिने प्रवन्ध छ भने हरेक प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाका दरले प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । त्यस्तै गरी पालिका कमिटीमा ५० जना हलबाट चुनिने छन् भने प्रत्येक वडाबाट पाँचजनाले प्रतिनिधित्व गर्नेछन् । त्यस्तै विशेष जिल्ला कमिटीमा ५० जना हलबाट चुनिने छन् भने हरेक इलाका कमिटीबाट १५ जनाका दरले प्रतिनिधित्व गर्नेछन् ।
वडा कमिटीहरु जिल्ला कमिटीले तोके बमोजिम हुने व्यवस्थ गरिएको छ । तर महानगरका वडामा १सय १,उपमहानगरमा ८५,नगर र गाउँपालिकामा ७५ जना भन्दा बढी संख्याको कमिटी बनाउन पाइने छैन । शाखा कमिटीहरु ५१ सदस्यीय हुनेछन् । टोल कमिटी ३१ सदस्यीय र प्रारम्भिक कमिटी २५ सदस्यीय हुने गरी विधानमा संसोधन गरिएको छ ।





प्रतिक्रिया