अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिपुलेकमा जनगणना गर्न अनेरास्ववियूको माग

लिपुलेकमा जनगणना गर्न अनेरास्ववियूको माग


काठमाडौं – नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि जनगणनामा समेट्न माग गरेको छ ।

अध्यक्ष सुनिता बरालले एक विज्ञप्तिमार्फत केपी ओली नेतृत्वको सरकारले ती क्षेत्र समेटेर नयाँ नक्शा जारी गरेको भएपनि वर्तमानको सरकारले उक्त नेपाली भूमीमा गणकहरु अहिलेसम्म नपठाएकोप्रति गम्भीर असहमति जनाउनुभएको छ ।

‘सन् १८१६ मार्च ४ मा ब्रिटिश, भारत र नेपालबीच भएको सुगौलीसन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्ताबेजहरूले समेत उक्त क्षेत्र नेपालको भएको पुनर्पुष्टी गर्दा समेत यो परमादेशी सरकारले उक्त क्षेत्रको जनगणनाका विषयमा गाम्भिर्यता नदेखाउँदा सरकारको नियतमाथि नै प्रश्न उठेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा तत्काल सुपरिवेक्षक र गणकहरू पठाउँदै हाम्रो नेपाली भू-भागमा जनगणना कार्य तत्काल अगाडि बढाउन हामी जोडदार माग गर्दछौं ।’

सङ्गठनले नेपालीहरू दसैँ-तिहार र छठ जस्ता ठूला पर्वको मुखमा बजारमा कालो बजारी बढेको र बसपार्कमा टिकटको कालोबजारी खुल्लमखुल्ला भइरहेको भन्दै सरकारले यसको नियन्त्रणका लागि कुनै काम उल्टै पुँजीपतिको पक्षपोषण गरेको जनाएको छ ।

‘यस्ता दैनिक उपभोग्य वस्तुको कालोबजारी निर्मूल गर्न, नियन्त्रण गर्न, अनुगमन गर्न र तत्काल संयन्त्र बना कालोबजारी गर्नेहरूलाई कडा भन्दा कडा कारबाहीको माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।

सङ्गठनले सरकारले सार्वजनिक यातायातको भाडा ३५ प्रतिशतले वृद्धि गरेको र जसकारण सर्वसाधारणहरू मर्कामा परेको भन्दै उक्त भाडादर तत्काल घटाउन माग गरेको छ ।