भक्तपुर- नेकपा एमालेमा विभिन्न मागहरु अघि सारेका प्रभु साहले आज अध्यक्ष केपी शर्मा ओलीसँग करिब तीन घण्टा छलफल गर्नुभएको छ ।
ओली निवास बालकोटमा दिउँसो १२ बजे देखि सुरु भएको छलफल करिब तीनबजे मात्र सकिएको साहले बताउनुभयो । आफूले उठाएका धेरैवटा माग विधान महाधिवेशनमा सम्बोधन भएको उहाँले बताउनुभयो । ‘कानुनी रुपमा एमाले हो तर राजनीतिक रुपमा नेकपा कै निरन्तरता हो भन्ने कुरा मेरो राजनीतिक प्रतिवेदन मै उल्लेख छ,’ अध्यक्ष ओलीलाई उधृत गर्दै साहले भन्नुभयो ‘त्यसैले सबैलाई त्यसै अनुसारको जिम्मेवारी हुन्छ । पार्टी काममा सक्रियतापूर्वक फर्कनुहोस भनेर अध्यक्षले भन्नुभएको छ ।’
अध्यक्ष ओलीको प्रतिवेदनमा नेकपा कै निरन्तरता भन्नु नै आफ्नो मागको सुनुवाइ भएको साहले बताउनुभयो । उहाँको भनाइ थियो, ‘अरु केही प्राविधिक कुराहरुलाई अफिसियल्ली सम्बोधन गर्न मैले माग गरें । उहाँ सकारात्मक हुनुभयो । त्यसपछि म खुशी भएर फर्कें । भोलि कै दिन देखि एमालेको अभियानमा मेरो सक्रियतापूर्वक सहभागिता हुन्छ । ’
साहले राजनीतिक कुरा सम्बोधन गर्ने अध्यक्षको प्रतिबद्धता आएपछि बाँकी प्राविधिक कुरामा धेरै अल्झिनु उपयुक्त नभएको बताउनुभयो । ‘अब कसलाई कहाँ के जिम्मेवारी दिने पार्टीको कुरा हो’ साहले नेपाली बहस डट कमसँग भन्नुभयो ‘केही कुराहरु पार्टी कमिटीबाटै निर्णय हुन्छ भन्नु भएकोछ अध्यक्षजीले । त्यसैले म खुशी भएर फर्केको छु । ’
साहले उठाएका मागका विषयमा बिहीबार उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेले सहमति जुटाएपछि साह अध्यक्ष ओलीलाई भेट्न बालकोट जानुभएको थियो ।
छलफल कै बीचमा पौडेल लुम्बिनीतर्फ लाग्नुभयो भने पोखरेल एक कार्यक्रमलाई सम्बोधन गर्न । त्यसपछि अध्यक्ष ओली,साह र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीबीच पनि लामो छलफल भएको थियो ।





प्रतिक्रिया