बुटवल- नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाउनुभएको छ ।
उपमहासचिव पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजना कटौती गर्ने र संचालनमा रहेका आयोजनामा पनि वर्तमान सरकारले बजेट कटौती गरिरहको बताउनुभयो ।
रुपन्देही उद्योग संघको ४३औं वार्षिक साधारणसभा तथा २२औं अधिवेशनको उद्घाटन गर्दै उहाँले आफूले शिलान्यास गरेको औद्योगिक क्षेत्र स्थापनाको काम असफल पार्न खोजिएको आशंका व्यक्त गर्नुभएको छ ।
पौडेलले बुटवलको ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान खोज्न पनि सरकारलाई आग्रह गर्नुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङमार्ग तथा झुम्साखोला खानेपानी आयोजना लगायतका विकास निर्माणका कामलाई अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सिद्धबाबामा सुरुङमार्ग निर्माणको लागि आफ्नो पहलमा टेण्डर आह्वान भइसकेको उल्लेख गर्दै योग्य र सक्षम कम्पनी छनोट गरेर सुरुङमार्ग निर्माणको काम पनि अगाडि बढाउन समेत आग्रह गर्नुभयो ।
नेता पौडेलले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई डबल लेन सडक, बुटवल–लमही–कोहलपुर सडक विस्तार, बुटवल–नारायणगढ सडक, बुटवल सम्मेलन केन्द्र, बुटवल मेडिकल कलेजको निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क र सैनामैनामा लामीडाँडा दह निर्माण जस्ता महत्वपूर्ण आयोजनाको काम वर्तमान सरकारले कुनै चासो नदिएको गुनासो गर्नुभयो ।
पौडेलले रुपन्देही क्षेत्रको विकास आयोजनामा विनियोजित बजेटको सदुपयोग भए/नभएको निगरानी गर्न सञ्चार क्षेत्रलाई आग्रह समेत गर्नुभएको छ
प्रतिक्रिया