सुनसरी – प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसरमा पीडितका आफन्तसहितले ढुङ्गामुढा गरेका छन् । कार्यालय परिसरमा जम्मा भएका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण गरेपछि दोहोरो झडप समेत भएको छ ।
ढुङ्गामुढा गरेपछि प्रहरीले प्रर्दशनकारीलाई लखेट्न अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै शव नबुझ्ने र न्याय नपाएसम्म आन्दोलन समेत गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु उचित नहुने बताउनुभयो । उहाँले घटनाबारे अनुसन्धान भइरहेको हुनाले छानविन हुने बतानउनुभो ।
प्रहरीले प्रर्दशनकारीलाई हटाउन धेरै प्रयास गरे पनि उग्र बनेको समूह प्रहरीमाथि जाई लागेको थियो । झडपका क्रममा प्रहरी कार्यालको संरचनामा क्षति समेत पुगेको छ । प्रर्दशनकारीलाई हटाउन कार्यालय र इनरुवा बजार क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा-५ का मोहम्मद हकिम साह हिरासतमा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।
प्रतिक्रिया