अछाम- अछाममा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १४ जना घाइते भएका छन् । बेहुलीसहित जन्ती पुर्याएर फर्किएको से १ च १७६३ नम्बरको बोलेरो जीप जिल्लाको पञ्चदेल विनायक नगरपालिका वडा नम्बर १ मा रहेको कुइकाको नादीको कच्ची सडकमा आइतबार मध्यरातमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का १४ बर्षीय जीवन न्यौपाने, १८ बर्षीय सर्प बोहरा, १७ वर्षीय हिमाल नेपाली र वडा नम्बर ३ का १७ बर्षीयका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो ।
जैसीको घटनास्थलमै, न्यौपाने, बोहराको स्थानीय स्वास्थ्य संस्थामा र नेपालीको उपचारका क्रममा जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।
जीप दुर्घटनामा घाइते मध्ये मदन धामी र उपेन्द्र शाहीलाई थप उपचारका लागि नेपालगन्ज लगिइएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी अर्यालको भनाई छ ।
उहाँका अनुसार बेहुली पुर्याएर राती करिब १२ बजे फर्किका व्यक्ति चढेको जीप साँघुरो कच्ची सडकमा पछाडि गर्ने क्रममा दुर्घटना भएको भनिएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया