काठमाडौं – आज बडादशैंको नवौं दिन अर्थात महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लाससाथ मनाईंदैछ ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरम नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको आज विधिपूर्वक पूजा आराधना गरिन्छ ।नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
महानवमीका दिन दुर्गा पूजा लगायत काम गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । नवरात्रिमा शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गर्ने, देवी महात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने प्रचलन छ । दशैंघर र कोत लगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा,भेडा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।
अधिकांश ठाउँमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने प्रचलन छ । यद्यपि पशुबलि नदिनेहरुले भने आज आआफ्नो कुल परम्पराअनुसार कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिइ पायस पनि चढाउने गर्छन् ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वसाथ लिइन्छ । नवरात्रको आफ्नै महत्व भए पनि घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महत्व अझ धेरै महत्व छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँसाथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।
हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर महानवमीको अवसरमा खोल्ने गरिन्छ । सो मन्दिर वर्षमा १ दिन अर्थात महानवमी पर्वको दिन मात्र खोल्ने गरिन्छ ।वर्षमा एक दिनमात्र खुल्ने भएकाले दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
प्रतिक्रिया