त्रिशूली- नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ लगिएको छ ।
किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नं को बस आज बिहान ११ बजे मनकामना आइपुग्दा बे्रकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार यात्रुले खचाखच भरिएको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ । बाँकी ३० जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ । घाइते भएका अधिकांश बसको छतमा बसेका यात्रु रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया