अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रूबी खानले अनसन तोड्नुभयो

रूबी खानले अनसन तोड्नुभयो


काठमाडौं- सरकार र नेपालगञ्जकी रूबी खानबीच बाँके घटनाको छानबिन समिति बनाउने सहमति भएको छ । गृहमन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै रूबी खानसहित  स्थानीयहरु १३ दिनदेखि माइतीघर मण्डलामा धर्ना बसेका थिए ।

सरकारसँग सहमति भएपछि न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको १३ दिन पछि अनसन तोड्नुभएको हो । मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।

अनसन तोड्नुभएकी रुबीले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरुको जित भएको बताउनुभएको छ । रुबीले भन्नुभयो, समितिले सत्यतथ्य बाहिर ल्याउन कुनै चुक गर्छ भने हामी यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिन चाहन्छु ।’

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र हत्या तथा नकुन्नी धोबीको हत्या भएको भन्दै मुस्लिम समाज चेतना केन्द्रले जिल्ला प्रहरी कार्यालय, बाँकेमा जाहेरी दिएको थियो । त्यसबारे प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै रुबी नेतृत्वको टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएको थियो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेका थिए ।

बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताइरहेका छन् । स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नु परेको बताएका थिए ।