बझाङ- बझाङमा पहिरोले पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ ।
हेलिकप्टरमार्फत् नेपाली सेनाको टोली घटनास्थल डिख्लामा पुगेको छ । सो टोलीले घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो ।
शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्को एक जनाको सनाखत हुन बाँकी छ । पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।
आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका–४ डिख्लामा पहिरो खस्दा एकै परिवारका १८ जना सदस्य र अर्को परिवारका ५ जना बेपत्ता भएका थिए ।
यस्तै, मल्लो डिख्लाका १४८ घरधुरीका ७५४ जना विस्थापित भएका छन् । उनीहरू अहिले विद्यालय र पहिरो जोखिम नभएका घरमा बसिरहेका छन् ।
विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको एक स्थानीयले बताउनुभयो । उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ । बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।
प्रतिक्रिया