काठमाडौं- अविरल वर्षापछि देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोमा परी आज (बुधबार) साँझसम्म ५८ जनाको मृत्यु भएको छ ।
बाढी-पहिरोमा परी १ नम्बर प्रदेशमा ३० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
१ नम्बर प्रदेशमा १४ जना र कर्णाली प्रदेशमा १ जना गरी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी अहिलेसम्म २६ जना वेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको छ ।
बाढीको कारण जम्मा १ हजार २८ वटा घर डुबानमा परेका छन् । ३० वटा घर, २ वटा गोठ, ४ वटा पुल, र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १०१ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा भएका जम्मा १३४ वटा विपद्७शधवसका घटनाबाट १ हजार ५० वटा घर परिवार विस्थापित भएका छन् ।
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका-५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका-४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका-४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका-६ सल्सेना र चम्तडी भन्ने स्थानमा, ईलाम देउमाई नगरपालिका-३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार-मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका-६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका-५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी रहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया